काम लागेन ओली पासा

लोकपथ
329
Shares

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीबाट इमान्दारीपूर्वक पार्टी एकताको प्रस्ताव नआएको निष्कर्ष निकालेको छ । सोमवार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीले अगाडि सारेको ६ बुँदे प्रस्ताव इमान्दारीपूर्वक नआएको निष्कर्ष निकालेको हो ।

ओलीले पार्टी एकताका लागि आब्हान गर्दे आइतवार ६ बुँदे प्रस्ताव अघि सारेका थिए । त्यसैबारे छलफल गर्न नेपालपक्षको स्थायी कमिटी बैठक सोमवार बसेको हो ।

ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थाबाट अघि बढाउन तयार रहेको भन्दै आफूलाई हटाएर विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिन प्रस्ताव गरेका छन् । नेपालपक्षले पनि यस अघि पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए । त्यो अनुरुप ओलीको प्रस्ताव नआएको पनि बैठकको निष्कर्ष छ ।

गत वैशाख २५ मा नेपालपक्षले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष ओलीलाई पत्र पठाएको थियो । सोमबारको बैठकले नेपाल–खनाल पक्षका सांसदले देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता नलिने निर्णय पनि गरेको छ । ओलीका विगतका व्यवहारले पनि नेपालपक्षले ओलीप्रति अविश्वास गरेको हो । नेपाल पक्षका नेता प्रेमल खनाल ओलीको प्रस्ताव इमान्दारिताका साथ नआएको बताउँछन् । ओलीको एकता प्रस्ताव जालझेलका साथ षडयन्त्रपूर्वक आएको र सत्तामा टिकिरहने दाउमात्रै भएको नेपाल पक्षका नेताहरुको बुझाई छ ।

“ओलीले नेता कार्यकर्तामा भ्रम सिर्जना गरेर एकताको लागि प्रयत्न गरेको थिँए भनेर सार्वजनिक रुपमा देखाउन खोजेका मात्रै हुन्,” नेता खनाल भन्छन,“ओलीले चाहने हो भने वरिष्ठ नेता नेपाल र खनालसँग छलफल गरेर एकैछिनमा पार्टीलाई एकजुट बनाएर लैजान सक्छन् तर उनी त्यसो गर्न चाँहदैनन ।

एक राजनीतिक विश्लेषकका अनुसार ओलीले आफू अप्ठ्यारोमा परेका बेला एकताको कुरा गर्छन र सहज भएका बेला नेताहरुलाई कारवाही गरेर पार्टीबाट निकाल्छन् । “अहिले पनि ओलीले गर्न खोजेको त्यही हो” ती विश्लेषक भन्छन् । यदि प्रतिनिधि सभा पुनर्स्थापना भएमा ओली आफू प्रधानमन्त्रीमै रहिरहन र देउवालाई प्रधानमन्त्रीमा रोक्न चाहन्छन् ।

ओली पक्षका एक नेता भने प्रधानमन्त्रीको प्रस्तावमा बसेर छलफल गर्न सकिने बताउँछन । तर ओलीलाई नेपाल पक्षले विश्वास गर्न सकिरहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?