फोहोर विसर्जनका लागि सहयोग गर्न काठमाडौं महानगरपालिकाको आग्रह

काठमाडौं– काठमाडौं महानगरपालिकाले नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयलाई फोहोर विसर्जनका लागि सहयोग गरिदिन आग्रह गरेको छ ।

आज (सोमवार) एक सूचना प्रकाशित गर्दै महानगरपालिकाले स्थानीयले गरेको अवरोधप्रति ध्यानाकर्षण भएको र शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी स्थानीयले राखेको माग पुरा गर्ने विषयमा छलफल थालेको जनाएको छ ।

महानगरपालिकाले जारी गरेको सूचनामा ‘स्थानीय वासिन्दाको माग सम्बन्धमा काठमाडौं महानगरपालिकाले नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी छलफल अघि बढाइसकेकोले माग पूरा हुने सम्बन्धमा काठमाडौँ महानगरपालिका सकारात्मक अपेक्षा गर्दछ,’ उल्लेख छ।

उपत्यकावासीलाई फोहोरलाई कुहिने र नकुहिने छुट्ट्याई कुहिने फोहोरलाई आफै व्यवस्थापन गर्न र नकुहिने फोहोरलाई सडकमा जथाभावी नफाली फोहोर लिन आउने गाडीमा पठाउन पनि महानगरले अनुरोध गरेको छ।

यसअघि महानगरपालिका लगायत उपत्यका १८ वटा नगरपालिकासँग यस अघि भएको सबै सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएसम्म फोहोर बिसर्जन गर्न नदिने स्थानीयहरुले बताएका थिए । फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बसिन्दाहरुले चैत १३ गते यता सडकमा विरोध प्रदर्शन गर्दै फोहोर बिसर्जन गर्न दिएका छैनन् ।

सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दि उपलब्ध गराउने, सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने लगायतका सम्झौतहरु तत्काल कार्यान्वयन गर्नुपर्ने माग प्रदर्शनकारीहरुको छ । सरकारसँग पटकपटक सम्झौता हुने तर कार्यान्वयनका लागि चासो नदिने भएपछि आफूहरु आन्दोलनमा उत्रिनुपरेको पनि उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?