विद्यालयहरुमा कोरोना जोखिम : विद्यार्थी, शिक्षक र अभिभावकको भुमिका के हुनुपर्छ?

काठमाडौं । कोरोना भाइरस ‘कोभिड – १९’ को जोखिम कायम रहेतापनि खोपको उपलब्धता, घट्दो संक्रमण दर लगायतका कारण केहि सहज बनिरहेको परिपाटी कोरोनाको दोस्रो लहर आउनसक्ने चेतावनीका कारण फेरि बिथोलिन थालेको छ ।

काठमाडौँ महानगरपालिकाले भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा ल्याउने अनुमति दिइसकेको कारण क्रमिक रुपमा खुलेका विद्यालयहरु फेरि कोरोनाको जोखिममा पर्ने भएका हुन् । भारतमा तिव्र रुपमा बढेको कोरोना भाइरसको प्रभाव नेपालका सीमावर्ती जिल्लामा समेत देखिन थालिसकेको छ ।

यस्तो विषम परिस्थितीमा फेरिपनि बालबालिकालाई कसरी जोगाउने भन्ने चिन्ता अभिभावक, शिक्षकहरुमा हुनु स्वभाविक हो । हुन त यसअघि कोरोना भाइरसबाट जोगिन सर्तकतास्वरुप सामाजिक दूरी कायम गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने अनुमति दिइएको हो । तर सबै विद्यालयले यसको पूर्ण पालना गरेका छैनन् । यस्तो अवस्थामा यदी संक्रमणको दोस्रो लहर नेपालमा फैलिएमा के गर्ने भन्ने प्रश्नले अहिले अभिभावक, शिक्षक, विद्यार्थीलाई पिरोलेको छ ।  यहि चिन्ताकाबीच करिब एउटा शैक्षिक सत्र सकिने अवधिसम्म घरमै बसेका विद्यार्थीको स्वास्थ्य सुरक्षाको जोखिम एकातिर छ भने शैक्षिक शत्र खेर जान दिन नहुने सवाल अर्कोतिर छ ।

‘सरकारले निरन्तर नियमन गर्नुपर्छ’

लकडाउनकै बेला पनि अनलाइन कक्षा सञ्चालन गरेर कतिपय विद्यालयहरुले पढाइलाई निरन्तर जारी राखे । तर, भर्चुअल तरिकाले पढ्नु र भौतिक उपस्थितिमा पढ्नुमा समान नहुने भएकाले विद्यालय पुनः सञ्चालन गर्दा केही दिनको जाडो/गर्मी विदा वा दशैँ तिहारको रमाइलो छुट्टिपछि शुरु हुन लागेको कक्षा जस्तो पटक्कै भएन । त्यसैमाथि परिस्थिति सामान्य अवस्थामा फर्किए पनि विद्यार्थीहरुको मानसिक स्थितिलाई सामान्य अवस्थामा फर्काउन कठिन नै भइरहेको अवस्थामा फेरि कोरोनाबाट बच्न सावधानी अपनाउनुपर्ने र नियमन गर्नुपर्ने आवश्यकता औँल्याउँछन् शिक्षाविद् डा.विद्यानाथ कोइराला । ‘हेरेर अथवा भोगेर अथवा टिभी, अनलाइन जस्ता अनौपचारिक माध्यम र विद्यालयमै उपस्थित भएर औपचारिक माध्यम यी चार तरिकाबाट विद्यार्थीहरुलाई पढाउन सकिन्छ,’ डा. कोइराला सुझाउँछन्, ‘विद्यार्थीलाई कसरी कक्षा चढाउने भन्दा पनि कसरी सिकाउने भन्ने कुरामा चाहिँ सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने हो । त्यसैमाथि स्वास्थ्य सवाल महत्वपूर्ण कुरा भयो।’

उनीहरुलाई एकसाथ कक्षाकोठामा राखेर पढाउन, त्यसो गर्दैगर्दा यता मास्क, स्यानिटाइजरको प्रयोग गर्न सिकाउनदेखि उनीहरु बिरामी भएको अवस्थामा के गर्ने भन्नेसम्मको पूर्वतयारी सकेर मात्रै विद्यालयहरु सञ्चालनमा आउनुपर्ने बताउँछन् शिक्षाविद् डा. कोइराला ।

साथै सरकारको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताउँदै उनी भन्छन्, ‘विद्यालय खोल्ने अनुमति दिएर मात्र हुँदैन के कसरी सञ्चालन भइरहेका छन् भनेर नियमित अनुगमन गरिनुपर्छ ।’

केही सुविधासम्पन्न विद्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन सक्छन् भन्दै मा सबै विद्यालयको स्रोतसाधन त्यो स्तरको नहुन सक्ने भएकाले यस विषयमा सरकारले नै केही ठोस कदम चाल्नुपर्ने सुझाउँछन् शिक्षाविद् कोइराला ।

‘विद्यालय प्रशासनले विशेष चासो देखाउनैपर्छ ’

विद्यालयमा सुरक्षित वातावरण सिर्जना गर्नमा विद्यालय प्रशासनको मूख्य भूमिका रहन्छ । त्यसमाथि यस महामारीका दौरान पुनः सञ्चालन भएको/हुन लागेको अवस्थामा त झनै विद्यालयलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा विद्यालय प्रशासनले विशेष चासो देखाउनैपर्छ ।

‘हामीले स्वास्थ्य मापदण्ड अपनाएरै कक्षा सञ्चालन गरिरहेका छौं,’ काठमाडौंको पुरानो बानेश्वरस्थित भीमसेनगोलामा रहेको कमलनेत्र छुन्ना मुन्ना माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र भट्टराई भन्छन्, ‘त्यसैले पनि कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुलाई मात्रै भौतिक उपस्थितिमा पढाइराखेका छौं ।’

विद्यालय पौष १ गतेदेखि सञ्चालनमा आएको हो । सञ्चालनमा आएदेखि ६० प्रतिशत विद्यार्थीको मात्र उपस्थिति रहेको भट्टराई बताउँछन् । बाँकी ४० प्रतिशत लकडाउनकै दौरान चलाइएको अनलाइन कक्षामा पनि सहभागी भएनन् । उपस्थित ६,७ र ८ कक्षाका विद्यार्थीहरुलाई एउटा बेन्चमा एकजनाको दरले राखेको र ९, १० का विद्यार्थीलाई एउटा बेन्चमा २ जना राखेर पढाउँदै आएको बताउँछन् – भट्टराई ।

विद्यार्थी जीवन जस्तो उर्जाशील उमेरको ठूलो अंश स्थिर रहेरै बितेकाले अभिभावकहरुले पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै विद्यालय पुनःसञ्चालन गर्ने सल्लाह दिएपछि मात्रै कक्षा शुरु गरेको उनी बताउँछन् ।

मनोविश्लेषक बासु आचार्य बालबालिकालाई फेरि जोखिम बढ्यो बर्बादै हुने भयो भन्ने तरीकाबाट मानसिक दवाब दिन नहुने बताउँछन् । उनी थप्छन्, ‘यो विषयमा विद्यालयले मिहिन ढंगले अध्यन गरेर नियम बनाउनुपर्छ । एकातिर लामो समयसम्म विश्राम पाएको मस्तिष्क बल्ल केहि फुरुंग भएको छ । अर्कातिर, कोरोनाले भयवित बनाएको मन लिएर विद्यालय गएका बालबालिकालाई फेरि पनि यस्तो पर्‍यो भन्नु भन्दा पहिला धेरै कुरा सोच्नुपर्छ ।

पु-याउनुपर्छ विशेष ध्यानः

‘कोभिड – १९’ को ‘हटस्पट’ बनेको काठमाडौं महानगरपालिकामा पूर्णरुपमा महामारी नहटी विद्यालय पुनःसञ्चालन भएसँगै विद्यार्थी, अभिभावक, शिक्षकको मनमा केही डर अवश्य छ । यस्तो अवस्थामा अभिभावक, शिक्षक, विद्यालय प्रशासन र स्वयम् विद्यार्थीले कसरी सुरक्षित र ढुक्क रहने रु सबैले आफ्नो ठाउँ र स्तरअनुसार निभाउन सक्ने केही भूमिकाहरु यस प्रकार छन्ः

अभिभावक : बालबालिकाको पहिलो विद्यालय घर र पहिलो शिक्षक अभिभावक भएकाले घरबाट नै उनीहरुलाई पूर्णरुपमा तयार गरेर पठाउने ।

मास्क, फेस सिल्ड, स्यानिटाइजर, रुमाल वा टिस्यू पेपर लगायत आवश्यक सामाग्री जुटाएर तिनको प्रयोग गर्ने तरिकासमेत सिकाएर पठाउने ।

विद्यालयमा केकस्तो स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिएको छ भनेर बुझ्न नियमित रुपमा विद्यालय गइरहने ।

आफ्ना बालबालिकाको स्वास्थ्यमा केही परिवर्तन देखापर्दैछ कि भनेर विचार पु-याउने ।

विद्यालय  : विद्यालय प्रशासनले कक्षामा भौतिक दूरी कायम गरेर विद्यार्थी राख्ने, आवश्यकता परे कक्षा विभाजन गर्ने वा विभिन्न सिफ्ट बनाएर पढाउने । स्यानिटाइजर, साबुन, पानी, मास्क लगायत सामाग्रीको उचित व्यवस्थापन गर्ने ।

कक्षाकोठा, खेल मैदान, धारा, शौचालयमा विद्यार्थीहरुले भीड गर्न सक्छन् त्यसैले नियमित चेकजाँच गर्ने । विद्यार्थीहरुको तापक्रम मापन गर्ने ।

विद्यार्थीको स्वास्थ्यमा परिवर्तन देखापरे वा ‘कोभिड- १९’ का लक्षण देखापरे तुरुन्तै विद्यार्थीको घरमा जानकारी गराएर अन्य विद्यार्थी भन्दा टाढा राख्ने ।

विद्यार्थी : विद्यार्थीहरुले पनि आफ्नो स्वास्थ्यको ख्याल आफै राख्न सिक्नुपर्छ । मास्क नखोल्ने, समयसमयमा साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने ।

आँखा, नाक, मुखतिर हात नलगिरहने । भीडभाड जम्मा गरेर नबस्ने, केही समय खेलकुद तथा अतिरिक्त गतिविधिमा समावेश नहुने ।

आफूलाई अस्वस्थ्य अनुभव भए तुरुन्तै विद्यालय प्रशासन वा अभिभावकलाई भनेर जँचाइहाल्ने ।

 

कसरी हुन्छ संक्रमण ?

चिकित्सकहरुका अनुसार दोस्रो लहर तिव्र रुपमा फैलिरहेको छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छ :

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क (हात मिलाउने, अंकमाल गर्ने, छुने आदि)

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

कसरी बच्ने ?

– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने

– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने

–  नियमित साबुन पानीले हात धुने/हातमा अल्कोहलजन्य सेनिटाइजर दल्ने  (खोक्दा वा हाच्छिउँपछि, बिरामी व्यक्तिको स्याहार गरेपछि, चर्पी प्रयोग गरेपछि, हात फोहोर देखिएपछि, बाहिरबाट घर आएपछि, जनावर वा जनावरको फोहोर छोएपछि)

– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सोझै सम्पर्कमा नरहने

– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने

– सार्वजनिक जमघटहरुमा कम उपस्थित हुने

चिकित्सकीय सल्लाह : 

घरबाहिर निस्कँदा मास्क : सामान्य कपडाको मास्कले हुँदैन, सर्जिकल मास्क वा विशेष तरिकाले बनाईएको मास्क उचित हुन्छ । दारी पालेकाहरूलाई मास्क लगाउन अप्ठ्यारो हुन्छ, तथापि वैकल्पिक उपाय अपनाउनु पर्छ । प्रदूषित वातावरणमा त सल वा मफ्लरले नाक–मुख ढाक्नु पनि नहुनुभन्दा कामचलाउ उपाय पनि बेश हुन्छ ।

सास जुध्ने स्थिति बाट बच्नु  : भीडभाडयुक्त स्थल वा सार्वजनिक यातायातलाई सकेसम्म पन्छाउने, होटलमा खान नजाने, अन्य व्यक्तिसँग स्वासप्रस्वासबाट प्रभावित (सास जुध्ने स्थिति) बाट बच्नु नितान्त जरुरी छ । संक्रमण फाटफुट रुपमा देखापर्न थालेको अवस्थामा घरबाट बाहिर ननिस्कनु र घरलाई किटाणुनासक औषधीद्वारा सुरक्षित राख्नु जरुरी हुन्छ ।

लसुन–पानी उपयोगी सिद्ध :  बिहान उठ्नेबित्तिकै खाली पेटमा करिब १५ ग्राम काँचो लसुनसँग २ गिलास पानी पिउने, कागतियुक्त भोजन, प्याजको सेवन, बेलुकी सुत्नुअघि ४–५ वटा तुलसीको हरियो पात, ५ ग्राम बेसार, सानो चम्चाको आधा मेथीदाना, १० ग्राम अदुवा ठूलो एक कप पानीमा उमालेको काडा लिनु फाईदाजनक हुन्छ । कोरोना भाईरसलाई ठीक गर्नमा लसुन–पानी उपयोगी सिद्ध भएको अनुभव छ । हेक्का रहोस्, लसुन र प्याज प्राकृतिक प्रतिजैविक (नेचरल एन्टीबायोटिक) हुन् भन्ने प्रमाणित भएको छ । ताजा अमला चुस्ने, कागती–मह पानी (हट लेमन हनी) सेवन लाभदायक हुन्छ । अमला, कागती, सुन्तला जस्ता भिटामिन ‘सी’ प्रचुर पाईने फलको सेवनले रोग प्रतिरोध, आन्तरिक उपचार तथा बिमार छिटो निको हुने क्षमता (हिलिङ् पावर) बढाउँछ ।

वाफ लिनु : विहान बेलुकी तातोपानीको वाफ लिनु फाईदाजनक हुन्छ । वाफ लिँदा जनजिब्रोले ‘भिक्स’ भन्ने बाम  वा ‘सन्चो’ खालका तत्व मिसाउनुले कालान्तरमा फोक्सोलाई असर गर्न सक्छ । त्यसैले वाफ लिन उमालेको पानीमा यस्ता चिज मिसाउनु हुँदैन ।

उपयुक्त खाना : घरमै तयार गरिएको भेजिटेबल सुप, मुङको दाल, खिचडी, परम्परागत नेपाली खाना, भात, रोटी, ग्रीन सलाद आदि स्वस्थकर हुन्छ । लसुन, प्याज, नरिवलको तेलका साथ बनेका खाना, अल्मोन्ड बदाम, ओखर आदि चिजहरू उपयुक्त मानिएको छ ।

असुरक्षित खाना : वुहान (चीन) को समुद्री खाद्य बजार (सि फुड मार्केट) बाट उत्पन्न भएको चिकित्सकीय प्रमाण भएको यस महामारीमा केही खानेकुराहरूमा संयम अपनाउनु उपयुक्त मानिन्छ । आयातित खाद्यपदार्थ पाईने नेपालमा खासगरी राजधानीमा यस्ता असुरक्षित खानाबाट हाललाई टाढै हुनु उचित हुन्छ । जस्तो कि, समुद्री खाना (सि फुड) नखानु नै उचित हुन्छ । बजारमा किनिएका खाद्यपदार्थ मध्ये पोटास–पानीमा डुबाउन मिल्ने (मूला, गाजर, भन्टा, खुर्सानी, कागती जस्ता) सामग्री पोटास पानीमा डुबाएर खाने गरेमा धेरैवटा रोग वा महामारीबाट बच्न सकिन्छ ।

विश्वस्वास्थ्य संगठन WHO को सल्लाह 

स्वास–प्रश्वासमा सावधानी :

आँखा, नाक र मुखमा हात नलगाउने :

पशुपंक्षी वा माछा–मासु बजार वा अस्पताल जाँदा मास्क आदिको प्रयोग तथा उच्च सरसफाई अपनाउने :

यदि हवाइ यात्रा गरिँदै छ भने कसरी सुरक्षित रहने ?

 

कोरोना संक्रमणबाट बच्न यी १० मन्त्रलाई हरेकले आफ्नो जीवनशैली बनाउन चिकित्सकले सुझाएका छन् ।

१. जनस्वास्थ्यका मापदण्ड अपनाउने : महामारीको समयमा सकभर घरमै बस्ने, घरबाट काम गर्ने, घर बाहिर जाँदा अनिवार्य रूपमा सही तरिकाले मास्क लगाउने, बाटोमा, चोकमा र कार्यस्थलमा न्यूनतम ६ फीटको व्यक्तिगत दूरी कायम गर्ने, साबुनपानीले हात धोइरहने र ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्ने, नाकमुख तथा आँखा छुने बानी त्याग्ने, भीडभाडमा नजाने, झ्यालढोका खुला भएको ठाउँमा बस्ने लगायतका सुरक्षित व्यवहारलाई जीवनशैलीको रुपमा अवलम्बन गर्नु जरुरी छ ।

२. तन्दुरुस्त रहने :  शारीरिक व्यायाम, पोषिलो खाना, पर्याप्त निद्रा, घामताप्ने बानी, योग, ध्यान तथा तनावलाई व्यवस्थापन गर्ने अन्य कौशलताले हामीलाई तन्दुरुस्त बनाउँछ । रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्दछ । गुर्जो, अश्वगन्धा, अदुवा, बेसार, कागती, मह, मरिच, लसुन, प्याज, दालचिनी, तुलसी, भिटामिन सी, जिंक, भिटामिन ‘डी’ आदिको सेवनले रोगप्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ ।

३. जोखिमबाट टाढा रहने :  अस्पताल, बजारमा हुने भीडभाड, सार्वजनिक यातायात, शपिङ मल, डिपार्टमेन्टल स्टोर, कर तिर्ने ठाउँ, विभिन्न महशुल बुझाउने ठाउँ, बैंक, गल्ली आदि ठाउँमा नजाने । जानुपर्‍यो भने छोटो समयको लागि सुरक्षा सतर्कता अपनाएर जाने । भरसक अनलाईन सिस्टमबाट यी कामहरु सञ्चालन गर्ने ।

४. स्वास्थ्य अवस्था थाहा पाउने :  ब्लडप्रेसर, रगतमा चिनीको मात्रा, युरिक एसिड, कोलेस्टेरोल (लिपिड प्रोफाइल), थाइराइडको अवस्था (टीएफटी), मिर्गाैलाको अवस्था (आरएफटी), कलेजोको अवस्था (एलएफटी), पेटको भिडियो एक्सरे, छातीको एक्स रे, ईसीजी, पिसाबको जाँच, पुरुषले प्रोस्टेट ग्ल्यांड तथा महिलाले पाठेघरको अवस्था, भिटामिन डी, क्याल्सियम, भिटामिन बी १२, हेमोग्लोबिन आदिको अवस्था तथा समस्या देखिएमा अन्य आवश्यक परीक्षण गर्ने । रिपोर्ट अनुसार चिकित्सकको सल्लाहमा समस्याको उपचार गर्ने । महामारीसँग लड्नको लागि स्वास्थ्य अवस्था राम्रो बनाउनु जरुरी हुन्छ ।

५. कुलतको त्याग : रक्सी, चुरोट, सुर्ती, गुट्खा, लागूपदार्थ, इन्टरनेट एडिक्सन आदि भएमा हाम्रो इम्युनिटी पावर कम हुन्छ । शरीरलाई ध्वस्त बनाउने यी अम्मल तत्काल छोड्नु जरुरी छ । खोप लागेपछि वा भाइरस कमजोर भएपछि यो महामारीको अन्त्य हुनेछ । त्यो लक्ष्यमा पुग्ने पुल भनेको धैर्यता, सुरक्षा सतर्कता र स्वस्थ जीवनशैली हो ।

६. विश्वसनिय मिडिया मात्रै र्हेन पढ्ने, प्रयोग गर्ने : मृत्यु भएका, शव गाडेका लगायत कोरोनाबारे सनसनीपूर्ण समाचार हेर्नु हुँदैन । नेपाल सरकार, डब्ल्यूएचओ, सीडीसी, एफडीए, युनिसेफ लगायतका आधिकारिक सूचना तथा स्वास्थ्यकर्मीको सल्लाह मात्र विश्वास गर्ने, प्रतिष्ठित तथा विश्वासिला रेडियो, टेलिभिजन, पत्रिका र १- २ अनलाइन पोर्टल दिनको बढीमा २ पटक मात्र हेर्ने बानीको विकास गर्‍यौं भने तनाब घट्दछ । भ्रम र हल्लाको पछि लागेर आफूलाई यातना दिने काम गर्नु हुँदैन ।

७.मानसिक स्वास्थ्य बलियो बनाउने : योग तथा ध्यान गर्ने, मोटिभेसनल स्पीच सुन्ने, कमेडी फ्लिम हेर्ने, घर तथा करेसाबारीमा काम गर्ने, पढ्ने, लेख्ने, आर्ट गर्ने, सकारात्मक सोंच भएका साथीसँग फोनमा कुरा गर्ने, कुनै व्यवसायले तनाव दिएको भए त्यो व्यवसाय सल्टाएर अर्को व्यवसाय शुरू गर्ने, आर्थिक जोखिमका काम तथा लगानी नगर्ने, आत्मबल र आत्मविश्वास बढाउने तथा यो समस्या संसारकै समस्या हो भनेर आत्मसात गर्ने एवं हरेक रातपछि सुनौलो बिहानी आउने तथ्य बुझ्नु जरुरी छ ।

८. रिपोर्ट नर्मलमा राख्ने : दीर्घ बिरामीले जोखिमबाट बच्नको लागि नियमित औषधि सेवन गरेर आफ्ना रिपोर्ट नर्मलमा राख्यौं भने अन्य व्यक्तिसरह संक्रमणसँग लड्न सकिन्छ । त्यस्तै ज्येष्ठ नागरिकले आफूलाई युवा ठानेर सक्रिय जीवन बिताएमा रोगसँग जित्ने स्टामिना प्राप्त हुन्छ ।

९. धैर्यता : खोप लागेपछि वा भाइरस कमजोर भएपछि यो महामारीको अन्त्य हुनेछ । त्यो लक्ष्यमा पुग्ने पुल भनेको धैर्यता, सुरक्षा सतर्कता र स्वस्थ जीवनशैली हो । युवा तथा निरोगीले काम गर्ने, जोखिम वर्ग घरमै बस्ने अनि जोखिम वर्गलाई घरभित्र पनि आइसोलेसनको वातावरण प्रबन्ध गर्ने हो भने संक्रमणबाट हुने जोखिमलाई न्यून गर्न सकिन्छ । ज्येष्ठ नागरिक तथा दीर्घ बिरामीलाई बचाउनु हामी सबैको पहिलो कर्तव्य हो ।

१०. सजगता अपनाउने  : ‘कोभिड – १९’ को कारणभन्दा अन्य रोगले मृत्युको संख्या बढिरहेको छ । तसर्थ आफ्ना बालबालिकालाई खोप लगाउने, पोषणमा ध्यान दिने, मानसिक रुपमा सपोर्ट गर्ने, औषधिसेवीलाई नियमित औषधि उपलब्ध गराउने, गर्भवती तथा सुत्केरीलाई नियमित परीक्षण, पोषण, आराम र सुरक्षाको प्रत्याभूति गर्ने एवं समाजमा सहयोगी तथा सकारात्मक वातावरण निर्माण गर्न हामी सबैको दायित्व हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?