निकुञ्जकै चुरे क्षेत्र प्रवेश गर्‍यो नरभक्षी बाघ

काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जको ‘टाइगर होल्डिङ सेन्टर’बाट भागेको पाटेबाघ निकुञ्जकै चुरे क्षेत्र प्रवेश गरेको छ । मान्छेलाई आक्रमण गरेर नियन्त्रणमा लिइएको सो बाघ हिजो (मंगलवार) बिहान भागेको थियो ।

बाघलाई गत बिहीवार बर्दियाबाट नियन्त्रणमा लिएर निकुञ्जको होल्डिङ सेन्टर मा राखिएको थियो । बाघ भागेसँगै निकुञ्जको टोलीले बाघको खोजी गरिरहेको थियो । बाघको पदचाप पछ्याउने क्रममा निकुञ्जको चुरे क्षेत्रमा गएको देखिएको निकुञ्जले जनाएको छ ।

बासस्थानको खोजि,मानवीय गतिविधि बाट बच्न र गर्मी याममा पानी भएको तथा घोच क्षेत्रमा गएको हुनसक्ने निकुञ्ज बताएको छ । बाघ वयश्क र बलियो रहेकाले भाग्न सफल भएको र भाग्नुमा कमजोरी भएको निकुञ्जले स्विकारेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा पछिल्लो करिब दुई वर्षको अवधिमा बाघको आक्रमणबाट १९ जनाको ज्यान गएको निकुञ्जको तथ्यांक छ।

बाघ भागेपछि निकुञ्जको सुरक्षामा खटेको नेपाली सेनाले स्थानीयलाई सावधानी अपनाउन र नआत्तिन आग्रह गरिसकेको छ । साथै निकुञ्जभित्र पर्ने पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकल, साइकल र पैदल यात्रामा कडाइ गरेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?