सप्तरीको दौलतपुर–३ की एक किशोरीलाई बुधबार सशस्त्र प्रहरीले सीमा नाकाबाट उद्धार गर्यो। किशोरीलाई भारतमा बलि चढाउनका लागि मानव तस्कर गिरोहले सुनसरीको कोसी–३ भन्टाबारी हुँदै सीमा कटाउन लाग्दा प्रहरीले बचाउन सफल भएको हो।
बलि दिनकै लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा असोज ५ गते सुनसरीको रामधुनी–५ की १७ वर्षीया किशोरीलाई भारतीय सीमाबाट प्रहरीले उद्धार गर्यो। विराटनगर–१७ इस्लामपुरको बाटो हुँदै उनलाई एक गिरोहले बिक्री गर्न भारत लैजाँदै थियो।
उनलाई लैजाने युवकमाथि शंका लागेपछि उनले गाडीबाट हामफालेर आफूलाई बचाएकी थिइन्।
प्रदेश–१ को सीमा क्षेत्र प्रयोग गरी भारतमा बलि दिनका लागि युवती लैजाँदै गरेको समयमा उद्धार गरिएका र फुत्किएका यी तीन प्रतिनिधि घटना हुन्। यी घटना युवती फुत्किएपछि र घटनामा संलग्न पक्राउ भएपछि सार्वजनिक भए। भारतमा ठूला विकास निर्माणका काम सुरु गर्दा युवतीको बलि दिनुपर्छ भन्ने अन्धविश्वास रहेकाले ठूलो मोलमोलाइ गरी लैजाने गरिएको प्रहरी अनुसन्धानले देखाएको छ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का भन्छन्, ‘नेपालका युवतीलाई विभिन्न प्रलोभनमा पारेर ठूलो रकमको मोलमोलाइ गरी भारत पुर्याउने घटना भइरहेको यस्ता घटनाबाट पुष्टि हुन्छ। सीमा सिल भएको समयमा त यस्तो छ, अन्य समयमा कस्तो होला रु’
यस्ता अधिकांश घटनामा भारतीय ठेकेदारसँग नेपालबाट बलि दिनका लागि युवती, किशोरी ल्याइदिन मानव तस्करी गर्ने गिरोहले डिल गर्ने गरेको पाइएको छ। भारतमा पनि नेपाली चेली बिक्री गर्ने समूह रहेको प्रहरीको भनाइ छ।
नेपाली युवतीलाई भारतमा बलि दिनका लागि लैजाने समूहमा बढी पुरुष हुन्छन्। तर, युवती फकाउन र एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन महिलाकै संलग्नता हुने गरेको छ। माथि उल्लिखित घटनामा पनि किशोरीलाई फकाएर भारत लैजान महिलाकै प्रयोग भएको देखिएको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया