देउवाविरुद्ध पौडेल पक्षको हस्ताक्षर

कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक मामिलामा ध्रुवीकरण बढाएर पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्य समितिमा विरोधपत्र दर्ता गराउने तयारी गरेको छ ।

विरोधपत्र दर्तापश्चात् पनि निर्णय नसच्याए संघर्षका कार्यक्रममा उत्रने चेतावनी पौडेल पक्षको छ । नेतृत्वले लिएका विधानविपरीतका निर्णय, निर्देशन र गतिविधिका विवरण समावेश गरी पौडेल पक्षले तयार पारेको विरोधपत्रमा संस्थापन इतरपक्षीय केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरिरहेका छन् ।

ध्रुवीकरणको आडमा विधि, प्रक्रिया र कार्यविधि मिच्दै देउवाले महाधिवेशनबाट आफ्नै नेतृत्वलाई निरन्तरता दिन खोजेको निष्कर्ष पौडेल पक्षको छ । पौडेलपक्षीय केन्द्रीय सदस्य गुरु घिमिरेका अनुसार सबै केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहित विधानविपरीतका निर्णय सच्याउन माग गर्दै छिट्टै विरोध दर्ता हुनेछ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र उनको पक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई समेत हस्ताक्षर गराउन पहल भइरहेकाले दर्ता गराउन ढिलाइ भएको उनले बताए ।कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?