आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ।
इन्द्रै बिन्ति गरून् झुकेर पदमा यो बिन्ति मान्दैन त्यो ।
यो कविताको अंशले भनेजस्तै मंगलवार साँझ ५ बजेर ५५ मिनेटमा सारा नेपालीका लागि दुखद् खबर आयो । मंगलवारको अस्ताउँदो सूर्यसँगै नेपालले एक काव्यको मुर्धन्य धरोहर पनि गुमायो । जुन खबरले सारा नेपालीलाई नै रुवायो । जसरी दिउँसो गगनबाट वर्षा भयो, त्यसरी नै साँझपख अचानक सारा नेपालीहरुको आँखाबाट अश्रुका धारा प्रवाहित भए । खबर थियो नेपाली साहित्यका एक स्तम्भ, राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन । साँझ ५ बजेर ५५ मिनेटमा उनको मृत्यु भएसँगै सारा नेपालीको आँखाबाट अश्रुधारा प्रवाहित हुन थाले । नहोस् पनि किन, नेपाली साहित्यलाई नवयुगमा प्रवेश गराउने एक सशक्त राष्ट्रकवि घिमिरेको निधन भएको थियो । यो समाचारले बिस्तारै बिस्तारै सामाजिक सञ्जाल ततायो । तर सारा नेपालीको बीचबाट मंगलवारको अस्ताएको सूर्यसँगै राष्ट्रकवि माधव प्रसाद घिमिरे पनि सदाका लागि यो संसारबाट अस्ताए ।
गाउँछ गीत नेपाली, ज्योतीको पंखा उचाली ।।
जय जय जय हे नेपाल सुन्दर शान्त विशाल ।।
जस्ता लोकप्रिय कविताबाट चिनिने राष्ट्रकवि वि.सं. १९७६ सालमा पिता गौरीशंकर र माता द्रौपदिदेवी घिमिरेको पुत्ररत्नका रूपमा लमजुङको पुस्तुनमा जन्मेका घिमिरे १०१ वर्षको उमेरमा सारा नेपालीहरुको माझबाट सदाका लागि बिदा भए ।
राष्ट्रकवि घिमिरे महाकवि लक्ष्मीप्रसाद देवकोटा पछिका सर्वाधिक ख्यातिप्राप्त र विशिष्ट कवि हुन् । अन्तर्राष्ट्रिय स्तरका कवि व्यक्तित्वका रूपमा उनको मूल्यांकन गर्ने गरिन्थ्यो । त्यसो त कविता काव्यका अतिरिक्ति गद्यलेखनमा पनि उनको उच्चस्तरको योगदानलाई पनि कम मूल्यांकन गर्न मिल्दैन । उनी ‘कवि’ का पर्याय जस्ता पनि बनेका छन् । सुन्दर र हृदयसंवेद्य कविताकाव्य लेखनमा उनी तुल्य व्यक्तित्व ‘न भूतो न भविष्यति’ जस्तो भइसकेको छ ।
तीन वर्षको उमेरमै मातृ वियोगको पीडा खेपेका घिमिरेको बाल्यकाल त्यति सुखद रहेन ।
उतिबेला बाल्यकालमै विवाह गर्ने चलन थियो । तत्कालीन समय अनुसार छिप्पिइसकेपछि अर्थात् १५ वर्षको उमेरमा घिमिरेको विवाह गौरी पोखरेलसँग भयो । विवाहपछि वि.सं. १९९३ मा उनी काठमाडौं आए र रानीपोखरी संस्कृत पाठशालाबाट औपचारिक शिक्षा प्रारम्भ गरे । पछि तीनधारा संस्कृत पाठशालामा पढे । त्यसपछि बनारसको क्विन्स कलेजबाट गुरु सोमनाथ सिग्देलको छत्रछायामा रही सर्वदर्शनमा शास्त्रीसम्मको अध्ययन गरे ।
आउन्न् अब हे नहेर, चुचुरा ! गौरी पखेरामनि
गाउन्न् अब गाउँका युवति हो १ गौरी छहारीमनि
बर्सी जा र पहाडमा खबर यो लैजा रुँदै बादल
घर्पेटी १ अब शान्तिलाई भनिद्यौ– आमा गइन् मावल !
धर्मपत्नी गौरीको निधन पनि कवि घिमिरेले लेखेको गोरी खण्डकाव्यको एक कवितांश हो यो ।
काठमाडौंमै रहँदा २००४ साल असारमा घिमिरेकी धर्मपत्नी गौरीको निधन भयो । उनी दुई छोरी शान्ति र कान्तिलाई टुहुरा पारेर बिदा भइन् । २००५ सालमा घिमिरेले महाकाली अधिकारीसँग दोश्रो विवाह गरेका थिए । जसले उनलाई आज पर्यन्त साथ दिइरहेकी छिन् ।
भाषानुवाद परिषदबाट जागीरे जीवन सुरु गरेका घिमिरे गोरखापत्रको सहायक सम्पादक समेत बनेका थिए ।
लमजुङको विद्यालयमा प्रधानाध्यापक पनि बने । २०१४ सालमा प्रज्ञाप्रतिष्ठानको सदस्य रहेका उनी पछि कुलपतिसम्म बने । उनी प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य हुन् ।
छी यो बेला नबस घरमा तुच्छ आलस्य पालि ।
हे १ तन्नेरी उठन पृथ्वी तीन बित्ता उताली ।।
जस्ता कविताबाट लोकप्रिय बनेका घिमिरेका कवितांशहरु अधिकांश नेपालीको मुखमा झुण्डिएको छ । नेपाली साहित्यमा देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा घिमिरेका रचनामा लोकलयको मिठो संयोजन पाइन्छ । घिमिरेले १३–१४ वर्षमै कविता लेख्न सुरु गरेका थिए । उनी काठमाडौं आउनुअघि नै गोरखापत्रमा ज्ञानपुष्प (१९९२) शीर्षकको कविता छापिइसकेको थियो । काठमाडौं आएपछि तिनै लयलाई शब्दपुष्पले उनेर सुन्दर रचना गरे । घिमिरेको लेखनमा देवकोटाको स्वछन्दतावाद र लेखनाथ पौड्यालको परिष्कारवादको प्रभाव पाइन्छ । १९९४ सालमा छापिएको नवमञ्जरी कविता संग्रह घिमिरेको पहिलो कृति हो । गद्य र पद्य दुबै विधामा कलम चलाएका घिमिरेका गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी (गीतसंग्रह), शकुन्तला, विषकन्या, अश्वत्थामा, देउकी, बालकुमारी, बोराको पर्दा तथा बाल कवितामा घामपानी (२०१०) बाललहरी (२०२६) राहुल यशोधरा (२०३५) सुनपंखी चरी (२०३५) आदि छन् । पत्नी गौरीको शोकमा लेखिएको गौरी (२००५) शोककाव्य उनको चर्चित रचना हो ।
क्यै काम नौलो नगरी नजाऊँ ,
अकालमै हे म मरी नजाऊँ ।
आयुष्य देऊ र भविष्य देऊ ,
मभित्र जीवन्त मनुष्य देऊ ।।
कविको कवितांशका हरेक अंशहरुमा लुकेका यस्ता अनगिन्ती भाव पद्य कविता मार्फत मात्र होइन उनले गद्य साहित्यबाट पनि दिएका छन् ।
गद्यको कुरा गर्नुपर्दा उनले कथा र निबन्धमा कलम चलेको पाइन्छ । आफ्नै बाँसुरी आफ्नै गीत र चारु चर्चा उनको निबन्ध संग्रह हो । मन जित्ने मुरली उनको कथा संग्रह हो । माधव प्रसाद घिमिरेलाई राज्यले २०६० सालमा राष्ट्रकविको उपाधिले सम्मान गरेको थियो ।
उनले साझा पुरस्कार, त्रिभुवन प्रज्ञा पुरस्कार, भूपालमान सिंह कार्की प्रज्ञा पुरस्कार, आदिकवि भानुभक्त पुरस्कार जस्ता २ दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।
उनको निधनले एकयुगको अन्त्य मात्र नभएर आज सारा नेपाली सहित्य जगत नै टुहुरो भएको छ । शिल्पमा परिष्कार तथा भावमा स्वच्छन्दतावादी विचारधाराका राष्ट्रकवि घिमिरे आजबाट हाम्रो सामु रहेनन्।
हामी सबै नेपालीको तर्फबाट हार्दिक श्रद्धासुमन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया