गणेश लम्साल/काठमाडौं । नेपाली हो नि नेपालीले चान्स पायो भने गर्छ भनेझैँ कोरोना हो नि कोरोनाले चान्स् पायो भने सर्छ भन्ने हामी सबैले जाने बुझेकै छौँ। हामी नेपालीलाई बरु देशको राष्ट्रिय गान कण्ठ नहोला तर कोरोनाबाट बच्ने उपाय कण्ठ नै छ। तर कोरोनाबाट बच्ने चेत भने हामी सबैमा पक्कै छैन।
विश्व घुम्दै २०७६ को माघबाट नेपाल पसेको कोरोनाले शुरु शुरुमा सबैलाई त्राहि त्राहि बनायो । यही कोरोनाबाट बच्नका लागि सरकारले चार महिनासम्म लकडाउन गर्यो,घरभित्रै थुनिएर बस्यौँ पनि। जब नेपालमा कोरोनाको दर घट्दै गयो,अनि लकडाउन पनि खुल्यो।
लकडाउन खुलेसँगै हामी जनताले कोरोना नै भागे जसरी दैनिकीमा फर्कियौँ। हामीलाई कोरोना पुरै निर्मूल भईसकेको छैन भन्ने होस नै भएन ।
सरकारले दण्ड जरिवाना गर्ने भनेपछि कहरले मास्क भिरेर हिँडेका हामीले मानिसको समूहमा पुगेर मुखको मास्क चिउँडोमा झारेर गफ चुट्न पनि पछि परेनौँ।
यदि कोही संक्रमित छ भने बोल्दाखेरि मुखबाट निस्कने थुकका छिटाबाट पनि कोरोना सर्छ भन्ने ज्ञान भएका हामीले व्यवहारमा भने पटक्कै ख्याल गरेनौँ।बरु एक्लै हिँड्दा मास्क नलगाएर बोल्दा चाहिँ मास्क लगाउन पर्नेमा ठ्याक्कै उल्टो गर्यौँ।
दैनिकजसो सामाजिक सञ्जालमा कोरोनाबाट बच्ने उपाय सार्वजनिक गर्ने हामीले सरकारले गरेका प्रेस मिट,बैठक आदिमा भएको हुल हुज्जतलाई देख्यौँ तर हामीले आफ्नो सडक आन्दोलन ,सामूहिक भेटघाट ,फोटो सेसनआदिलाई चाहिँ देखेनौँ।
प्रवक्ताले नाक कोट्याएको देख्ने हामीलाई साथीभाइसँग हिँड्दाको भौतिकदूरी चाहिँ पत्तो भएन ।यहाँ मैले सरकार र प्रवक्ताका काम चाहिँ ठीक हुन् भन्न खोजेको होइन ,केवल हाम्रो चेतनाको स्तरलाई प्रष्ट्याउन खोजेको मात्र हो।
हुन त हामीमा यो सोच विकास भइसकेको छ कि,आफ्ना चिनेजानेकाबाट त कोरोना सर्दै सर्दैन। कोरोना त नचिनेकाबाट मात्र सर्ने हो नि। कोरोना संक्रमित र कोरोनाबट मृत्यु भएकालाई सामाजिक बहिष्कार गर्ने हामीले जति कोरोनाबाट बच्ने ज्ञान त अरुले कहाँ पाएका होलान् र ?
लकडाउन खुलेपछि स्वास्थ्य मापदण्डको धज्जी उडाउँदा विभिन्न स्थानमा पुनः लकडाउन ,निषेधाज्ञा जारी एवम्ल सील गर्नुपर्ने अवस्था आयो तर हामी अझै पनि सरकारलाई नै दोष दिँदै बसेका छौँ,हामीलाई आफ्नो व्यवहारमा पटक्कै ख्याल छैन ।
कोरोना संक्रमितलाई उपचारको राम्रो प्रबन्ध गर्नु सरकारको प्रमुख कर्तव्य र प्राथमिकताको विषय हो ,यसबाट सरकार विमुख हुन पाउँदैन । तर कोरोनाको उपचारभन्दा पनि बच्ने उपाय नै प्रमुख भएको परिप्रेक्ष्यमा हामीले सचेत बनेर दैनिकी सञ्चालन गर्नुपर्नेमा सरकारकै मुख ताकेर अघि बढ्यौँ भने स्थित भयावह हुन्छ नै ।
लकडाउन भयो भने भोकले मरिने भयो भन्दै उफ्रने ,खोल्यो भने कोरोनाले लग्ने भयो भन्दै उफ्रिएर हुनेवाला केही होइन ।
जबसम्म हामीले सचेत एवम् सजग भएर अघि बढेनौँ भने यो कोरोना जित्न गाह्रो हैन असम्भव नै छ ।
यतिन्जेल कुनै पनि कोरोनाको खोप र औषधि विकास भइसकेको छैन,तसर्थ कोरोनाबाट बच्न आफू नै लाग्ने हो ,सरकारले जतिसुकै अस्पताल र बेडको संख्या थपे पनि आफू सजग र सचेत भइएन भने कोरोनाले छोड्दैन ,जसरी हामी नेपालीले चान्स् पायौँ कि गर्छौँँ,त्यसरी नै कोरोनाले चान्स् पायो कि सर्छ।
कोरोनादेखि डराउने तर सजग नहुने हो भने हाम्रो बाँकी जिन्दगी तहसनहस हुनेमा द्विमत छैन किनकि हामी सबैलाई यो थाहा छ कि, सधैँ बन्द कोठामा बसेर जिन्दगी चल्नेवाला छैन। तसर्थ कोरोनाबाट बच्ने हो ,डराउने होइन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया