तनहुँ । गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा पशुपक्षी सहकारीमन्त्री लेखबहादुर थापाले लगानीको अभावमा विमुख र बेरोजगार भएर बस्नुपर्ने अवस्था नरहेको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–५ स्थित याम्पामा गाउँपालिकाद्वारा सहकारीमार्फत दूध उत्पादनमा प्रतिलिटर एक अनुदान वितरण तथा पशु सेवा कार्यालयको शनिवार शुभारम्भ गर्दै उनले कृषकलाई लगानीको अभाव हुन नदिन प्रदेश सरकारसँग साढे १८ करोड रुपैयाँ सुरक्षित रहेको जानकारी दिए । कोभिड–१९ का कारण व्यवसायी धरासायी भएका छन् । विदेशबाट आएका युवाले काम पाउन सकेका छैन । उनले भने, “लगानीको अभावमा कोही पनि विमुख र बेरोजगार हुनुपर्दैन ।”
आम किसानले पाउने गरी कृषिमा अनुदान कार्यक्रम ल्याइएको छ । उजले भने, “अब खाद्यवाली, बागवनी, पशुपालन, मत्स्यपालन व्यवसाय सञ्चालनका लागि लगानीको अभाव छैन । पशुपालन तथा कृषि व्यवसाय गर्दा अनिवार्यरूपमा बीमा गरेर मात्रै सञ्चालन गर्नुहोस् । ” त्यसैगरी बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले गाउँपालिकाभित्र उत्पादन हुने वस्तु बिक्री वितरणका लागि सहज वातावरण बनाउन गाउँपालिकाले नयाँ पुलमा हाटबजारको लागि टहरा निर्माण गरिरहेको बताए ।
नेकपा गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हेमराज लामिछानेले उत्पादनमा आधारित अनुदान कार्यक्रम सक्कली किसानले पाउने हुँदा प्रभावकारी बन्दै जाने विश्वास व्यक्त गरे। भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र प्रमुख डा बालकुमार श्रेष्ठले तनहुँ दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दै गएकाले अन्य क्षेत्रमा पनि आत्मनिर्भर बनेर बाह्य जिल्लामा निर्यात गर्न सक्षम बन्नुपर्ने बताए ।
याम्पा दुग्ध उपभोक्ता सहकारी संस्थाका अध्यक्ष छविलाल घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त याम्पा दुग्ध सहकारी संस्थाले दैनिक चार हजार २०० लिटर दूध पोखरा निर्यात गर्दै आएको छ । पोखरास्थित सुजल डेरी प्रालिले दैनिक सङ्कलन भएको दूध लैजाने गरेको संस्थाका कोषाध्यक्ष देवकी पन्तले जानकारी दिए ।
बन्दीपुर गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले उत्पादनको आधारमा अनुदान प्रदान गरेको छ । उक्त कार्यक्रमअन्तर्गत सहकारीमा सबैभन्दा धेरै दूध सङ्कलन गर्ने नमूना गाईफार्मका सञ्चालक पुष्पराज पौडेल र उनकी पत्नी सीता पौडेललाई मन्त्री थापाले प्रतिलिटर एक रुपैयाँका दरले ७९ हजार रुपैयाँ अनुदान प्रदान गरेका थिए । संस्थामा आबद्ध रहेका ४१ दुग्ध उत्पादक कृषकलाई पनि उत्पादनको आधारमा प्रतिलिटर एक रुपैयाँका दरले अनुदान प्रदान गरिएको छ । सोही अवसरमा बन्दीपुर–५ याम्पामा पशुसेवा कार्यालयको शुभारम्भ समेत गरिएको थियो ।
नगरपालिकाद्वारा सार्वजनिक बिदा
व्यासनगरपालिकाले आज नगरक्षेत्रमा सार्वजनिक बिदा दिएको छ । २०७६ माघ २४ गते बसेको नगरपालिकाको ३२औँ नगरसभा बैठकबाट २६औँ विश्व आदिवासी दिवसको दिन बिदा गर्ने निर्णय गरेको थियो हो ।
व्यास नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाको (अत्यावश्यकबाहेक) बिदा हुने नगरपालिकाले जनाएको छ । त्यसैगरी सामुदायिक तथा निजी शैक्षिक संस्थाहरु एवं सङ्घसंस्थामा यस नगरपालिकाद्वारा सार्वजनिक बिदा दिने निर्णय भएअनुरुप बिदा गरिएको शाखा अधिकृत मेघनाथ आचार्यले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया