सोमालियामा अल-शबाबका सात लडाकू मारिए

मोगादिशु । अफ्रिकी मुलुक सोमालियाको सेनाले गरेको कारवाहीमा इस्लामिक विद्रोही समूह अल–शबाबका छ जना लडाकूको मृत्यु भएको छ ।

सेनाका एक कमान्डर अडेन मोहमद इब्राहिमका अनुसार ती लडाकूहरु किस्मायो प्रान्तको बाहिरी इलाकामा भएको सैनिक कारवाहीमा मारिएका हुन् ।

इब्राहिमले कोबान र बुला हाजी गाउँमा सेना र विद्रोहीबीच भीषण संघर्ष भएको पनि बताए। सैन्य कारबाहीका क्रममा धेरै वटा गाउँलाई विद्रोहीको कब्जाबाट मुक्त गरिएको र ठूलो परिमाणमा हातहतियार बरामद भएको उनले दाबी गरे ।

गत जुलाई १२ मा पनि बे क्षेत्रको दक्षिणी भागमा सेनाले गरेको अर्को कारवाहीमा सात जना अल–शबाबका लडाकू मारिएका थिए भने केही घाइते भएका थिए ।

यसैबीच, सोमालियाका आन्तरिक सुरक्षा मन्त्री अब्दिनासिर सइद मुसे एउटा हत्या प्रयासबाट बच्नु भएको छ ।

राजधानी मोगादिशु बाहिर होडान जिल्लाको भ्रमणका क्रममा सडक किनारामा थापिएको विद्युतीय धरापमा उनको सवारी साधन परेको थियो, तर सुरक्षा निकायहरुले उनी अर्को सवारी साधनमा चढेकाले बाँच्न सफल भएको बताएका छन् ।

उक्त घटनाको कसैले जिम्मेवारी लिएका छैनन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?