जान्नुहोस् : प्राकृतिक रम्य वनक्षेत्रमा अवस्थित देवी पोर्पा अजिमाको परिचय

ऋचा शर्मा तिवारी /काठमाडौं  – काठमाडौको रिङ्गरोड भित्रैको भूभाग सामाखुशी आसपासमा करीब ७.६ हेक्टरमा फैलिएको एउटा ऐतिहासिक वन छ । प्राकृतिक मनोरमले भरपुर यो वन काठमाडौं महानगरपालिकाको उत्तर पश्चिमी भागमा अवस्थित छ । काठमाडौं शहरमा बाँकी रहेकोयो प्राकृतिक वनसम्भवतः एक मात्र सामुदायिक वन हो । सो स्थान लाजिम्पाटस्थित साङ्गृृला होटलबाट पश्चिमतिर करीब ४२५ मिटरमा पर्छ । त्यसैगरी चक्रपथको सामाखुशी चोकबाट करीब ९५० मिटर दक्षिणमा पर्छ । सो वनमा एउटा देवी मन्दिर पनि छ । सो देवीलाई अजिमा पोडपा वा पोर्पा अजिमा पनि भनिन्छ । साथै सो देवीलाई म्व म्ह् द्या पनि भनिन्छ । स्थानीय नेवारी भाषा अनुसार यसको अर्थ जिवित देवी भन्ने हुन्छ । सो देवी सामा द्य को नामले पनि चिनिन्छिन् ।

इतिहास खोतल्दै जाँदा कुनै राणा खान्दानका प्रचण्ड शम्शेर भन्ने व्यक्तिको रानीले देवीको मूर्तिमा मन्दिर निर्माण गराईसोको संरक्षणको लागि जङ्गलको वरिपरि पर्खाल समेत लगाएको हुनाले त्यस मन्दिरलाई रानीकै नामबाट रानीदेबी मन्दिर र त्यस स्थानलाई रानीवारीभनिएको पाइन्छ । अन्यथा सो ठाउँ सामाखुसीमै पर्छ । सामाखुसीको पूरानो नाउँ सामाले हो । जङ्गल वरिपरि पर्खाल निर्माण हुनु अगाडि जथाभावी जङ्गल फडानी भई मासिँदै गएकोमा रानीले परखाल लगाएपछि भने सुरक्षित रहेको मान्यता पाइन्छ । यसो भएतापनि मन्दिर निर्माण गराउने रानी वा निजको पति प्रचण्ड सम्शेर को थिए भन्ने बारेमा चाहिँ कहीँबाट खुल्न सकेको छैन र यसको कुनै तिथि मिति पनि कतै लेखिएको पाइन्न ।

सामाखुसीको सानो सामाले डाँडाँमा रहेको यस भुमीलाई समभुमी पनि भनिएको पाइन्छ । समभुमी भन्नाले खेती गर्न योग्य भुमी भन्ने बुझिन्छ् । यो स्थान पहिले धानबाली खेती गर्ने ठुलो खेतको रुपमा रहेको भन्ने सुन्नमा आउँछ जहाँ असन, ठमेल, ठहिटी, टेउड, कमलाक्षी आदी स्थानका मानिसहरुले खेती गर्ने गर्थे भन्ने बुझिन्छ । त्यसैले हुन सक्छ, पोर्पा अजिमालाई धानको रेखदेख गर्ने देवीको रुपमा पनि पुजिन्छ ।सामाभूमीमा रहेको धानबारीमा धान काटी भित्राइसकेपछी भकारी पूजा गरी पहिलो धान पोर्पा अजिमा र हारती अजिमालाई चढाउन जाने परम्परा रहेको पाइन्छ ।पोर्पा अजिमासँग कुनै गुठीहरु सम्बन्धित नदेखिएता पनि नेपाल सम्बत अनुसारको एघारौं महिनामा यहाँ बाजागाजा सहित परिक्रमा गर्ने प्रचलन रहि आएको पाइन्छ । यसलाई यँला पनि भनिन्छ ।

उपयुक्त मन्दिर रानीले निर्माण गर्न लगाएतापनि मन्दिरको मूर्ति कहिले कसरी उत्पत्ति भएको हो वा कसैले स्थापित गरको भन्नेमा चाहिँ कुनै तथ्य फेला परेको छैन । यस देवीपीठलाई दिपङ्खा यात्राको बेलामा परिक्रमा गरिनुले चाह्ँि यो लिच्छविकालीन हो भन्ने अनुमान लाग्छ । स्थानीय जनविश्वास अनुसार पोर्पा अजिमालाई स्वयम्भस्थित हारती अजिमा र म्हैपी अजिमाको बहिनी मानिन्छ। वर्ष–वर्षमा सामाभूमी क्षेत्रमा हावाहुरी चल्दाको समयमा स्थानीयहरु हारती अजिमा र म्हेपी अजिमा आफ्नो बहिनी भेट्न आएको मान्ने गर्छन्। हारती माँलाई मात्र गरिने विशेष प्रकारको ञ छाय् हायेकेझ पूजा यहाँ पनि गर्ने गरिन्छ । साथै यहाँ पनि हाँसको अण्डा मात्र प्रयोग गर्ने परम्परा रहेको छ। मतलव, यस देवीलाई कुखुरा तथा कुखुराको अण्डा चढाउन वर्जित छ । पोर्पा अजिमा को कुनै गुठीजग्गा, दे छे अर्थात् देवता बस्ने घर पनि नभएको हुँदा यो मन्दिर एउटा स्वतन्त्र मन्दिरको रुपमा रहेको बुझिन्छ ।

स्थानीयहरुको जनविश्वासयस्तो पनि छ कि पोर्पा अजिमा एउटा बुढी आमाको रुपमा हाकु पटासी फरिया लागई सेतो खास्टो ओढेर बिरामी भएको मानिसहरुको घर–घरमै गई रोग निको पार्ने देवी हुन् । यसका अलावा कतिपयनेवा जातिहरुको कुलदेवताको रुपमा पनि यो देवीलाई मान्ने गरेकोले त्यस्ताको कुलदेवता पुजा पनि त्यहीँ गर्ने चलन छ । नेपालमा राजतन्त्रको समयमा सरकारी स्तरबाटै यसमन्दिरमा सँधै भेडाको बली दिने चलन रहेछ जुन परम्परा हाल कायम पाइन्न ।

देवी पोर्पा अजिमा जुन जङ्गलमा रहेकी छन्, सो जङ्गलमा पोर्पा लाखे बस्ने गर्छ भन्ने जनविश्वास रहेको पाइन्छ । लाखेको सन्दर्भमा काठमाडौको सबैभन्दा ठूलो तथा भयंकर मानिने पोर्पा लाखे र इन्द्रजात्राको अवसरमा निकालिने मजिपा लाखेलाई दाजुभाइ मानिन्छ। कसैले हालसम्म नदेखेता पनिबुढापाकाको भनाई अनुसार नीलो कपाल भएको डरलाग्दो रुप भएको पोर्पा लाखेले सो जङ्गलको रक्षा गर्ने मान्यता छ । सोही जङ्गलमा बस्ने भएकोले पोर्पा अजिमाकहाँ पूजा गर्न जाँदा लाखेलाई पनि अलग्गै भाग राखी निश्चित स्थानमा राख्न पर्ने प्रचलन रहेको छ।

यस स्थानले केवल धार्मिक मात्र नभएर वातावरणिय दृस्टिकोणले पनि महत्व बोकेको पाइन्छ । किनभने यो वनको विषयमा विभिन्न विधाका विद्यार्थीहरुबाट अनेक विषयमा अध्ययनहरु समेत भएका पाइन्छन् । जस अनुसार यस वनमा लगभग ८९ प्रजातीका चराचुरुङ्गीहरु पाइने वताइन्छ । यस्तो महत्व वोकेको कारणले नै कतीपय अनुशन्धान कर्मी, चरा एवं वनस्पति सम्वन्धित विषयका छात्रहरुको अध्ययनको लागी यो थलो उपयुक्त रहेको प्रमाणित भै सकेको छ ।

यस वनलाई २०५७ सालमा वन कार्यलयले सामुदायिक वनको रुपमा हस्तान्तरण गरेको पाइन्छ । काठमान्डौ शहरभित्र रहेकोे सामुदायिक वनमा सम्भवत यो नै पहिलो हुन सक्छ । यहाँ फोटो,भिडियो खिच्नका लागी केही शुल्क पनि निर्धारण गरिएको छ । बिहान बिहान यहाँ प्रात भ्रमण, शरिरिक ब्यायामका लागी खुल्ला स्थान र स्वच्छ वातावरण भएकोले योगाभ्यास, दौडने आदि प्रयोजनमा मानिसहरु आउने गरेका छन् । सो वनमा प्रवेशको लागि बिहान ५ बजेदेखी साँढे नौ बजेसम्म निशुल्क छ । त्यसपछि ब्यक्ती रु १०  शुल्क तिर्नु पर्ने हुन्छ । मन्दिर बेलुका ५ बजेसम्म खुला रहन्छ । यहाँ विवाह , ब्रतबन्ध जस्ता कार्यक्रम आयोजना गर्नको लागि रु ३००० देखि ५००० सम्म र सरसफाइ धरौटि रु १००० तोकिएको छ । पारिवारिक फोटो खिच्नका लागि प्रति परिवार रु १००० शुल्क निर्धारण भएको छ ।

यस वनमा विभिन्न जातिका रुख लगायत अनेक जडिबुटि, झाडी, तथा झारहरु गरेर १३१ प्रजातिका वनस्पतिहरु पाइन्छन् । ति मध्ये रातो सिरिश, बाँस, कोइरालो, पीपल, स्वामी, कटुस, चिलाउन, जामुन, हाडे प्रमुख हुन् । त्यस्तै यहाँ केही जनावरहरु पनि छन् । रातो बाँदर, स्याल, वन बिरालो लोखर्के, न्याउरिमुसो जस्ता जनावर र २९ प्रजातीका पुतलीहरु पनि देख्न सकिन्छ जसमा Restricted Demon, Grass Demon, Dark Palm Dart, Glossy Bluebottle, Common Bluebottle, Common Redbreast, Plain Tiger, Great Mormon आदि रहेका छन । यहाँको जैबिक विविधता मध्ये चराहरु पनि हुन ।

किनकि यिहाँ करिब ८९ प्रजातिका चराहरुको सुमधुर आवाज सुन्न पाइन्छ जसमध्ये बिश्वमा नै दुर्लभ, सकटको नजिक रहेको करा सुगा पनि पाइन्छ । अरु चराहरु मध्ये हिउँदे आगन्तुक चराहरु brown shrike , Grey-backed Shrike, Yellow bellied Fantail,Black throated Thrush, Golden-spectacled warbler, Olive backed Pipit आदि रहेका छन । यसो हुँदा यो मन्दिर र वन क्षेत्र जैविक विविधतामा धनी मानिएको छ ।

सन्दर्भ : सन्दिप महर्जन

केही फोटोहरुमा हेर्नुहोस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?