हङकङप्रतिको अमेरिकी विशेष व्यवहार अन्त्य गरिएको घोषणा गर्दै ट्रम्पले चीन माथि लगाए यस्तो आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गर्ने एउटा आदेशमा हस्ताक्षर गरेका छन्।

उनले चीनविरूद्ध बढ्दो रूपमा कडा नीति अँगाल्ने गर्ने क्रममा पछिल्लो कदम चालेका हुन्।

वासिङ्टनमा आयोजित एक पत्रकार सम्मेलनमा उनले हङकङको स्वतन्त्रतालाई मेटाउने सबै व्यक्ति र निकायलाई त्यसप्रति जिम्मेवार ठहर्‍याइने बताए।

ह्वाइटहाउसमा पत्रकारहरूलाई उनले भने, हङकङलाई अब मुख्यभूमि चीनजसरी नै व्यवहार गरिनेछ ।

ट्रम्पले हङकङमा मानव अधिकार हनन गर्ने चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउन मिल्ने एउटा विधयेकमा समेत हस्ताक्षर गरेको बताएका छन्।

यहि महिनाको शुरुमा अमेरिकी संसद्‍बाट एकमतले पारित भएको उक्त विधेयक अब कानून बनेपछि हङकङसँग व्यापार गर्दा दिइने विशेष सुविधालाई अन्त्य गरिनुका साथै ब्याङ्कहरूमाथि प्रतिबन्ध लगाउने अधिकार दिनेछ।

पछिल्ला साताहरूमा अमेरिकाले हङकङलाई दिइएको विशेष हैसियतबारे निर्णय रोकिराखेको थियो।

मङ्गलवार ट्रम्पले भने अब कुनै विशेष सुविधा, विशेष आर्थिक व्यवहार र संवेदनशील प्रविधिको आपूर्ति हुनेछैन।

पूर्व ब्रिटिश उपनिवेश उक्त भूमिले मुख्यभूमि चीनमा नपाइने मौलिक स्वतन्त्रताहरू पाउँछ।

तर त्यहाँका थुप्रै मानिसहरूले बेइजिङले जारी गरेको नयाँ सुरक्षा कानूनले हङकङको विशेष हैसियत अन्त्य गर्ने ठान्छन्।

हङकङ सन् १९९७ मा ब्रिटेनले चीनलाई फिर्ता दिएको थियो।

त्यस्तो हैसियतका लागि चीन र संयुक्त अधिराज्यबिच सन् १९८४ मा एउटा सम्झौता भएको थियो।

चीन सरकारको आलोचनालाई गैरकानूनी ठान्ने बेइजिङको त्यस्तो कानून ब्रिटेनले सन् १९९७ मा हङकङलाई चीन फिर्ता दिएपछि त्यहाँको राजनीतिक परिदृश्य फेर्ने कठोर परिवर्तन हो।

ट्रम्पले के भने ?

सोही पत्रकार सम्मेलनमा ट्रम्पले आफ्नो प्रशासनले असमान व्यापार, अभ्यास र मानव अधिकारजस्ता विषयमा चीनविरूद्ध कडा कदमहरू चालेको बताएका छन्।

उनले चीनले विश्वमा कोरोनाभाइरस छाडेको आरोप समेत लगाएका छन्।

ब्रिटेनले आफ्नो फाइभ जी मोबाइल नेटवर्कमा चिनियाँ प्रविधि कम्पनी ह्वावेईका सामग्री प्रतिबन्ध लगाउन गरेको निर्णयको श्रेय ट्रम्पले स्वयं लिएका छन्।

उक्त प्रविधिमा रहेका सुरक्षा जोखिम आफूले ब्रिटेनलाई प्रस्ट पारेको उनको भनाइ थियो।

विशेष राहदानी भएका हङ्‌कङवासीहरू विदेश पलायन हुने मनस्थितिमा
चिनियाँ अधिकारीहरूलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाउने घोषणा
ब्रिटिश सरकारले जोखिमको पुनर्समीक्षा गरेपछि यस्तो कदम लिइएको जनाएको छ।

तर ह्वावेईले त्यो सबै अमेरिकी नीति रहेको भन्दै त्यसले ब्रिटेनलाई सुस्त डिजिटल बाटोमा धकेल्ने जनाएको छ।

एक पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले चिनियाँ राष्ट्रपति शी जिनङसँग कुरा गर्ने आफ्नो कुनै योजना र रुचि नभएको बताएका छन्।

श्रोत बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?