प्रदेश सरकारद्वारा दमौली अस्पताललाई एक करोड ४३ लाख रुपैयाँ बजेट

दमौली । गण्डकी प्रदेश सरकारले तनहुँको सदरमुकामस्थित दमौली अस्पताललाई एक करोड ४३ लाख ६४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि अस्पताललाई उक्त बजेट विनियोजन गरेको हो ।

अस्पताल सुृदढीकरण, आँखा सेवा, डायलायसिस सेवा, एम्बुलेन्स खरिद, औषधि खरिदलगायतका शीर्षकमा प्रदेश सरकारले बजेट विनियोजन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए। उनका अनुसार विपद् पूर्वतयारीसम्बन्धी कार्यक्रमका लागि एक लाख ५० हजार रुपैयाँ, एनसीयु एनआइसीयु सेवा निरन्तरताका लागि १० लाख दुई हजार रुपैयाँ, डायलायसिस सेवा सञ्चालन तथा निरन्तरताका लागि १० लाख दुई हजार रुपैयाँ, नसर्ने रोग (क्यान्सर, मुटुरोग, मिर्गौला, दीर्घश्वासप्रश्वास रोग) तथा मानसिक स्वास्थ्य क्लिनिक कार्यक्रम सञ्चालन तथा निरन्तरताका लागि नौ लाख रपैयाँ, अस्पताल सुदृढीकरण कार्यक्रम, बृहत् आकस्मिक प्रसूति तथा नवशिशु स्याहार सेवा सुदृढीकरणका लागि ३४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

आँखा सेवा कार्यक्रम सञ्चालनका लागि अल्थाल्मिक असिस्टेन्ट र नेत्र सहयोगी सेवा करारका लागि सात लाख ६० हजार रुपैयाँ, बिरामीका लागि खाद्यान्न एवं सुत्केरी भत्ताका लागि १० लाख रुपैयाँ, आधारभूत एवं अत्यावश्यक औषधि खरिदका लागि रु पाँच लाख, एम्बुलेन्स खरिदका लागि १२ लाख रुपैयाँ विनियोजन भएको छ ।

त्यस्तै १५ शैयाको अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्नका लागि जग्गा प्राप्ति र विस्तृत आयोजना प्रतिवेदन तयार गर्नका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जग्गा अभावकै कारण अस्पतालको स्तरोन्नति हुनसकेको छैन ।

हाल १५ शैयामा सञ्चालित अस्पताललाई ५० शैयाको अस्पतालमा स्तरोन्नति गर्न कम्तीमा ३५ देखि ८० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्ने देखिएको छ ।

अहिले दमौली अस्पताल १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । तनहुँका साथै कास्कीको पूर्व र लमजुङको पश्चिम क्षेत्रका सर्वसाधारणलाई सेवा प्रवाह गर्दै आइरहेको अस्पताललाई थप सुविधासम्पन्न बनाउन स्तरोन्नति आवश्यक रहेको अधिकारीले जानकारी दिए।

दैनिक १०० भन्दा बढी बिरामी अस्पतालमा स्वास्थ्य उपचारका लागि आउने गरेका छन् । हाल दमौली अस्पतालमा सरकारी दरबन्दीमा तीन चिकित्सक छन् । त्यसमध्ये एक मेडिकल सुपरिटेन्डेन्ट हुन् । साथै करारमा समेत गरी आठ चिकित्सकले सर्वसाधारणलाई सेवा प्रवाह गरिरहेका छन् ।

गाउँपालिका एक हप्ता बन्द

तनहुँमा सोमबार १७ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत छन् ।

बन्दीपुर गाउँपालिकामा थपिएका ११ मध्ये चिकित्सकसहित दुई स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र आठ क्वारेन्टाइनमा बसेका सर्वसाधारण छन् ।

गाउँपालिकाबाट ३४ जनाको स्वाब सङ्कलन गरी जेठ २८ गते परीक्षणका लागि पठाइएकामा सोमबार उनीहरुमा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले जानकारी दिए ।

बन्दीपुर गाउँपालिकाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत कोरोना पुष्टि भएसँगै गाउँपालिकाले असार ९ गतेदेखि लागू हुने गरी गाउँपालिकाले प्रदान गर्दै आइरहेको सबै सेवा र इलाका प्रहरी कार्यालय बन्दीपुर एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको सोमबार साँझ बसेको आकस्मिक बैठकले थप सङ्क्रमण हुन नदिन गाउँपालिका र प्रहरी कार्यालय एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए।

उनका अनुसार गाउँपालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था दुई हप्ताका लागि पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ ।

यसैगरी आँबुखैरेनी गाउँपालिकामा थपिएका तीनमध्ये एक सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । दुई जना भने क्वारेन्टिनमा रहेका व्यक्ति रहेको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।

त्यस्तै भीमाद नगरपालिकामा तीन, घिरिङ गाउँपालिकाका एक कोरोना सङ्क्रमित थपिएका छन् । सोमवार १७ थप भएसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ८९ पुगेको छ । दश स्थानीय तहमध्ये आठ स्थानीय तहमा कोरोना पुष्टि भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?