कुबेतबाट फर्केर खरिपाटी क्वारेन्टाइनमा रहेका सात जनामा कोरोना

भक्तपुर । कुबेतबाट फर्किएर भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा रहेका सात महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा शनिवार भक्तपुर भनेर जानकारी दिइए पनि सङ्क्रमित भक्तपुरका स्थायी बासिन्दा नभई क्वारेन्टाइनमा बसेका महिला रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

सङ्क्रमित पुष्टि भएका मोरङका ४२ र ४१ वर्षीया, कास्कीका २३ वर्षीया, नवलपरासीका २९ वर्षीया, झापाका २८ वर्षीया, बाराका २८ वर्षीया, सुर्खेतका २८ वर्षीया महिला रहेका छन् ।

शरीरको तापक्रम बढी देखिएपछि कुवेतबाट नेपाल फर्किएकामध्ये प्रदेश नं १ र २ का १०९ जनालाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा नराखी खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो । यसअघि गत बिहीवार खरिपाटी क्वारेन्टाइनमा रहेका नवलपुर गैँडाकोट निवासी २२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यहाँ रहेका सबैको सोही दिन स्वाब सङ्कलन गरिएको थियो ।

सङ्क्रमित प्रहरीको परिवारको कोरोना नेगेटिभ

गत बिहीवार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका प्रहरीको परिवारका सबै सदस्यको स्वाब परीक्षणमा कोरोना नेगेटिभ रिेपोर्ट आएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरको सञ्चार शाखामा कार्यरत सङ्क्रमित प्रहरीको परिवारका आठ जनाको पिसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।

सङ्क्रमित प्रहरीको सम्पर्कमा रहेका ३० प्रहरी कर्मचारीमध्ये २१ जनाको रिपोर्ट पनि कोरोना नेगेटिभ आएको उनले जानकारी दिए ।

परिसरका नौ प्रहरी र भक्तपुर नपा–५ भोलाछेंका सङ्क्रमित पुरुषका परिवार एवं छिमेकी ११ जनाको भने रिपोर्ट आउन बाँकी छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?