प्रशिक्षक बेहोस भएर ढलेपछि सिकारु चालकले यसरी उडाए विमान

काठमाडौं । प्रशिक्षक अचेत भएपछि एक प्रशिक्षार्थी विमानचालकले अष्ट्रेलियामा एउटा सानो विमानलाई सफलतापूर्वक अवतरण गरेका छन्।

उनलाई विमान उडाउन सिकाउँदै गर्दा उनका प्रशिक्षक आकाशमै बेहोस हुनपछि म्याक्स सिल्भेस्टरले हवाई ट्राफिक नियन्त्रकसँग आपत्कालीन सञ्चार गरेका थिए।

पर्थस्थित विमानस्थलका हवाई ट्राफिक नियन्त्रकहरूको सहयोगमा उनले विमान सफल अवतरण गरेका हुन् ।
यो घटनापछि धेरैले उनको प्रशंसा गरेका छन्।

सार्वजनिक गरिएको आपत्कालीन सञ्चारसंवादमा उनले आफ्नो प्रशिक्षकको बारेमा जानकारी गराएका थिए ।
उनले संवादका क्रममा भने ”उनी मेरो काँधमा अडेस लागेका छन्। म उनलाई उठाउन प्रयास गरिरहेको छु, तर उनी ढलि नै रहेका छन् ।”

सेस्ना विमान चलाउन आउँछ कि आउँदैन भनेर सोद्धा उनले भने ”म प्रशिक्षणमा छु,यो मेरो पहिलो कक्षा हो।”

घटना अघि दुई पटक उडानको कक्षा लिएपनि सेस्ना विमानमा उनी पहिलो पटक बसेका थिए र कहिल्यै विमान अवतरण गरेका पनि थिएनन्।

नियन्त्रकको सहायतामा विमानस्थल वरपर एक घण्टा अवतरण गर्ने अभ्यास गरेपछि उनले सफलतापूर्वक विमान ओरालेका थिए।

विमान अवतरण गर्दा उनलाई आफ्नो परिवारका सदस्यहरू र आपत्कालीन उद्धारकर्मीहरूले कुरिरहेका थिए। उनको प्रशिक्षकलाई अस्पताल लगिएको छ।

विमानलाई कुनै क्षति पुगेको छैन। यो एउटा राम्रो अवतरण भएको उडान स्कूलका मालिक चक म्याकइल्वीले बताए।

उनले ती प्रशिक्षार्थी विमानचालक र विमानस्थलको हवाई ट्राफिक नियन्त्रणको प्रशंसा गरेका छन्। बिबिसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?