काठमाडौं । ढुवानी व्यवसायलाई भ्याट र ट्रक ढुवानी व्यवसायलाई प्यानमा दर्ता गरे हुने गरी सरकार र ढुवानी व्यवसायीबीच सहमति भएको छ । ट्रक, ट्याङ्कर र ट्रिपर लगायतका ढुवानीका साधन सञ्चालन गर्ने व्यवसायीले साधनको ब्लुबूक र नागरिकताका आधारमा स्थायी लेखा नम्बर (प्यान) पाउने गरि बिहीवार सहमति भएको हो।
ब्लुबूक र नागरिकताका आधारमा ढुवानीकर्तालाई प्यान दिन सरकार र व्यवसायीको संयुक्त बैठकमा सरकारी पक्ष ट्रक व्यवसायी सहमत भएका हुुन् । ढुवानी व्यवसायी र ढुवानीकर्ता दुवै पक्षले बैठकमा २० लाख रुपैयाँभन्दा बढी कारोबार भएमा मूल्य अभिवृद्धि करमा दर्ता हुने प्रतिबद्धता जनाएको छ । यो सँगै देशभरि बन्द रहेको ढुवानी व्यवसाय शुक्रवारदेखि शुरू हुने अपेक्षा गरिएको छ ।
ढुवानीकर्ताले ब्लुबूक र नागरिकताका आधारमा ढुवानीका साधनको नम्बर राखेर राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर पाउने भएका हुन् । अब ढुवानीकर्ताले घरेलु उद्योग वा अन्य कुनै सरकारी कार्यालयमा गएर फर्म दर्ता गर्नु नपर्ने भएको छ ।
त्यस्तै ढुवानीकर्ताले प्यान नलिउन्जेलसम्मको खर्च भौचरका आधारमा राजस्व कार्यालयले मान्य गर्ने सहमति भएको छ । बैठकले ढुवानीकर्ताले प्यान दर्ता नगरुन्जेलसम्म टीडीएस तिरेको भौचरका आधारमा खर्च लेख्न पाउने व्यवस्था गरेको छ । १ हजारभन्दा माथिको खर्चमा प्यान बिल अनिवार्य रहने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया