अनिर्णयको बन्दी बन्दै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पछिल्ला हरेक बैठक निर्णयबिनै टुंगिँदै आएका छन् । सभापति शेरबहादुर देउवा बैठक बोलाउने तर उनी इतरका समूह बैठकमा सहभागी नहुँदा केही समययताका कांग्रेस बैठक निर्णयबिनै टुंगिँदै आएका हुन् ।

मिति तोकेरै बोलाइएका हरेकजसो बैठक बस्ने वा नबस्ने टुंगो नहुँदा केन्द्रीय तहको जिम्मेवारीमा रहेका पदाधिकारीसहित सदस्यले समेत हैरानी बेहोर्दै आएका छन् । यस्तै, कतिपय बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै वा थप छलफल गर्नुपर्ने कारण देखाउँदै स्थगित गरिँदै आइएको छ ।

एक केन्द्रीय नेताका अनुसार सोमबार बोलाइएको बैठकमा पार्टी केन्द्रीय कार्यालय सानेपामा केही पदाधिकारी गएनन् । गएका केन्द्रीय सदस्यसमेत बैठक बस्ने– नबस्ने अन्योलका कारण फर्किए ।

कांग्रेसको गत साउनमा बसेको केन्द्रीय समिति बैठकले पार्टीको विधानले व्यवस्था गरेअनुसार अन्तरिम संरचनाको समायोजनको काम सहमतिबाट मंसिरभित्रै टुंग्याउन सहमति गरेको थियो । सो बैठकमा अन्तरिम व्यवस्थाअनुसारको संरचना गठन गरेर महाधिवेशनमा जाने कांग्रेसले शीर्ष सहमतिबाट निर्णय लिएको थियो । कांग्रेसको त्यसयताका हरेकजसो बैठक बिनानिर्णय टुंगिँदै आएका छन् ।राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?