मौसम पूर्वानुमान विभागका अनुसार आजदेखि मौसम बदलिने : भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझबाट उच्च पहाडी तथा हिमाली भेगमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको छ । पश्चिमी वायु प्रणालीका कारण अधिकतम र न्यूनतम तापक्रममा एक्कासी गिरावट आएकाले देशैभरको मौसम प्रभावित हुनेछ ।

अहिले पूर्वी इरान र अफगानिस्तानमा रहेको पश्चिमी वायु विस्तारै पूर्वतिर सर्दै आएकाले जल तथा मौसम पूर्वानुमान विभागले विशेष बुलेटिन जारी गर्दै सबैलाई सतर्क रहन आग्रह गरेको हो ।
महाशाखाका अनुसार यसको प्रभाव विशेषतः नेपालका पश्चिमी भेगका स्थानहरु र मध्य र पूर्वी भेगका केही स्थानहरुमा देखापर्नेछ ।

बुलेटिनमा भनिएको छ, ‘यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा बुधबार साँझसम्ममा प्रवेश गर्ने देखिन्छ । यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना छ । यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको छ ।’
बुधवारबाट शुरु भएको उक्त मौसम प्रणाली शनिवारसम्म रहने भएकाले महाशाखाले बुलेटिनमार्फत् सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुलेटिन :

नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

बिशेष मौसम बुलेटिन (Special Weather Bulletin)
(जारी मितिः २०७६-०८-२४, बिहान ७:३० बजे)

हाल पूर्वी इरान र अफगानिस्तान माथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा रहेको छ। यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा बुधबार साँझसम्ममा प्रवेश गर्ने देखिन्छ। यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना छ। यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमा समेत हिमपातको सम्भावना रहेको छ। उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ। साथै यस प्रणालीका कारण देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको छ।

बुधबार बाट शुरू भई यो मौसमी प्रणाली शनिबार सम्ममा अन्त्य हुने देखिन्छ।

उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन हुन सर्वसाधारण लगायत सबैमा अनुरोध गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?