विराटनगरसँगको पराजयसँगै काठमाडौं ईपीएलबाट बाहिर

काठमाडौं, १० पुस । विराटनगर वारियर्ससँगको पराजयसँगै काठमाडौं किंग्स इलाभेन एभरेष्ट प्रिमियर लिग क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । सोमबार भएको पहिलो खेलमा विराटनगर वारियर्सले काठमाडौंमाथि ८ रनको रोमाञ्चक जित हात पारेको हो । विराटनगरले यो सँगै समूह चरणमा सबै खेल जितेको छ । काठमाडौंले भने १ खेलमा मात्रै जित हात पार्न सफल भयो । १४८ रनको लक्ष्य पछ्याएको काठमाडौंलाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो । तर, अन्तिम ओभरको पहिलो बलमा नै रामनरेश गिरीले सागर विमारको विकेट लिए । दोस्रो बलमा रन जोड्न नसकेका सिद्धान्त लोहनीले तेस्रो बलमा छक्का हान्दै काठमाडौंलाई जितको आशा देखाएका थिए । तर, चौथो बलमा उनी आउट भए । र, काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो । उसका लागि महारुफले ४२ रन बनाए भने नरेश बुढायरले ३० रन जोड्दा अन्य ब्याट्सम्यान चल्न सकेनन् । बिराटनगरका अंशुमान रथले ३ विकेट लिए भने वसन्त रेग्मी र रामनरेश गिरीले २–२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । जितसँगै ५ खेलबाट १० अंक जोडेको विराटनगर समूह विजेता बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?