लुम्बिनी विकास बैंकको नाफासँगै वितरणयोग्य मुनाफामा उछाल, अधिकांश सूचकमा सुधार

लोकपथ
7
Shares

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकको नाफा र अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार देखिएको छ ।

गत आर्थिक वर्षमा बैंकले ८५ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकको नाफा २४ करोड ११ लाख रुपैयाँ थियो । यसअनुसार बैंकको नाफा करिब २५३ प्रतिशतले बढेको हो ।

बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

यद्यपि, फी तथा कमिसनबाट हुने आम्दानी भने घटेको छ। यो आम्दानी २० करोड ६० लाख रुपैयाँबाट घटेर १८ करोड ४३ लाख रुपैयाँ मा सीमित भएको छ ।

यसबीच बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब २८ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने सञ्चालन मुनाफा दोब्बरभन्दा बढी बढेर १ अर्ब २१ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य मुनाफा पनि उल्लेख्य रूपमा बढेको छ । अघिल्लो वर्ष १८ करोड ४३ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा बढेर ६१ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, प्रतिशेयर आम्दानी (ईपीएस) ६.६५ रुपैयाँबाट बढेर २३।४८ रुपैयाँ पुगेको छ। तर, खराब कर्जा (एनपीएल) भने ४.७१ प्रतिशतबाट बढेर ६.९४ प्रतिशत पुगेको छ ।

हाल बैंकको आधारदर ५.४८ प्रतिशत, कस्ट अफ फण्ड ३.९५ प्रतिशत र प्रतिशेयर नेटवर्थ २१३.७३ रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पूँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ३ अर्ब ५० करोड ५५ लाख रुपैयाँ सञ्चित छ ।

विवरणअनुसार बैंकले ४७ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ र ५७ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यद्यपि, अघिल्लो वर्षको तुलनामा कर्जा र निक्षेप दुवै केही घटेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?