नेपाली बजारमा शाओमीको नयाँ ‘वाच एस-५ ४६एमएम’, एक पटक चार्ज गर्दा २१ दिनसम्म चल्ने दाबी

लोकपथ
105
Shares

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ प्रिमियम स्मार्टवाच शाओमी वाच एस–५ ४६एमएम सार्वजनिक गरेको छ ।

कम्पनीले आकर्षक डिजाइन, लामो ब्याट्री ब्याकअप, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहित यो स्मार्टवाच नेपाली उपभोक्तामाझ ल्याएको जनाएको छ ।

शाओमी वाच एस–५ मा १.४८ इन्चको एमोलेड डिस्प्ले रहेको छ, जसको रिजोलुसन ४८०×४८० पिक्सेल, ३२३ पीपीआई र अधिकतम २,५०० निट्स ब्राइटनेस छ । यसले प्रत्यक्ष घाममा पनि स्क्रिन स्पष्ट देख्न सकिने कम्पनीको दाबी छ । स्टेनलेस स्टिल फ्रेम, विभिन्न स्ट्र्याप र बेजेल विकल्प तथा करिब ४६ ग्राम तौलका कारण घडी हलुका र प्रयोग गर्न सहज रहेको बताइएको छ ।

स्मार्टवाचमा ४८६ एमएएच क्षमताको ब्याट्री राखिएको छ। सामान्य प्रयोगमा एक पटक चार्ज गर्दा २१ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

स्वास्थ्यसम्बन्धी सुविधामा मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा (SpO₂), निद्राको गुणस्तरलगायत विभिन्न स्वास्थ्य सूचक मापन गर्ने सुधारिएका सेन्सर र एल्गोरिदम समावेश छन् । साथै, साप्ताहिक तथा मासिक निद्रा प्रतिवेदन, स्लिप एचआरभी विश्लेषणजस्ता सुविधाले प्रयोगकर्तालाई आफ्नो स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

खेलकुद तथा फिटनेसका लागि वाचमा १५० भन्दा बढी खेल तथा व्यायाम मोड उपलब्ध छन् । यसमा डुअल–ब्यान्ड, पाँच–प्रणालीयुक्त जीएनएसएस प्रविधि, साइकल चलाउँदा स्मार्टफोनसँग जोडिने रियल–टाइम ड्यासबोर्ड तथा नयाँ प्यासन मोड समावेश गरिएको छ । यो मोडले ताली बजाउने, हात हल्लाउने वा मुट्ठी कस्ने जस्ता गतिविधि पहिचान गरी मुटुको धड्कन, खर्च भएको क्यालोरी र गतिविधिको विवरण अभिलेख राख्न सक्ने कम्पनीले जनाएको छ ।

यस स्मार्टवाचमा ब्लुटुथ ५.४, एनएफसी र ५ एटीएम वाटर रेसिस्टेन्स सुविधा पनि रहेको छ । कम्पनीका अनुसार शाओमी वाच एस–५ ४६एमएम को नेपाली बजार मूल्य ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ । आधुनिक जीवनशैली अपनाउने, स्वास्थ्य निगरानी गर्न चाहने तथा नियमित व्यायाम गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै यो स्मार्टवाच बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?