एनएमबी बैंकको वार्षिक खुद नाफा ४ अर्ब नाघ्यो

लोकपथ
7
Shares

काठमाडौं । एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा पहिलोपटक ४ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ ।

बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ४०.६ प्रतिशतले बढेर ४ अर्ब १ करोड रुपैयाँ पुगेको हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा २ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ भने प्रति शेयर वितरणयोग्य नाफा ९.०८ प्रतिशत कायम भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार प्रभावकारी सम्पत्ति तथा दायित्व व्यवस्थापनका कारण खुद ब्याज आम्दानी १७.५ प्रतिशतले वृद्धि भएर ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी डिजिटल बैंकिङ तथा ट्रान्ज्याक्सन बैंकिङ कारोबार विस्तारसँगै शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।

ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा आएको सुधारका कारण खुद ट्रेडिङ आम्दानी ८९ प्रतिशतले वृद्धि भई ६८ करोड १४ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

यस अवधिमा बैंकको पुँजी प्रतिफल (आरओई) ११.५८ प्रतिशत र सम्पत्ति प्रतिफल (आरओए) १.०४ प्रतिशत पुगेको छ ।

बैंकले वित्तीय सूचकमा देखिएको सुधारलाई प्रभावकारी व्यवस्थापन, डिजिटल बैंकिङ सेवाको विस्तार तथा सञ्चालन दक्षतामा आएको सुधारको परिणाम भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?