रुसको किभमा ठूलो आक्रमण, ९ जनाको मृत्यु

लोकपथ
35
Shares

काठमाडौं । रुसले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म युक्रेनको राजधानी किभमा मिसाइल र ड्रोनबाट ठूलो आक्रमण गरेको छ । युक्रेनी अधिकारीका अनुसार आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

किभका मेयर भिताली क्लिच्कोका अनुसार सोलोमियान्स्की जिल्लामा पाँचतले आवासीय भवन भत्किँदा २ जनाको मृत्यु भएको छ । यस घटनामा दुई बालबालिकासहित ८ जना घाइते भएका छन् ।

दार्नित्स्की जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ घर, सवारीसाधन, प्रशासनिक भवन र अन्य संरचनामा क्षति पुगेको छ । आपत्कालीन सेवाका अनुसार यस क्षेत्रमा ७ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

शेभचेन्किभ्स्की जिल्लामा एउटा गैरआवासीय भवनमा लागेको आगो भने नियन्त्रणमा ल्याइएको छ ।

यसअघि दुई दिनअघि पनि रुसले युक्रेनका विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो । त्यस आक्रमणमा १० सर्वसाधारणको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको लगातार आक्रमण रोक्न अमेरिका र अन्य पश्चिमी देशसँग ‘प्याट्रियट’ हवाई रक्षा प्रणाली उपलब्ध गराइदिन फेरि आग्रह गरेका छन् ।

उनले शुक्रबार राति अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग टेलिफोनमा कुराकानी गरेको र यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटबारे पनि छलफल भएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?