कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङ एपमै अन्तर्राष्ट्रिय इसिम र आइडीपी सेवा

लोकपथ
0
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रिय डिजिटल सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नेपालस्थित प्रविधि कम्पनी निम्बजसँग सहकार्य गरेको छ ।

यस सहकार्यअन्तर्गत निम्बजले उपलब्ध गराउँदै आएको अन्तर्राष्ट्रिय डेटा सेवा तथा अन्तर्राष्ट्रिय सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा कुमारी बैंकको मोबाइल बैंकिङ एपमा समावेश गरिएको बैंकले जनाएको छ ।

अब कुमारी बैंकका ग्राहकले मोबाइल बैंकिङ एपबाटै विदेशमा प्रयोग हुने अन्तर्राष्ट्रिय डेटा प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिन सक्नेछन् ।

बैंकका अनुसार विदेश भ्रमण गर्ने, उच्च शिक्षाका लागि विदेश जाने, वैदेशिक रोजगारीमा रहेका तथा नियमित रूपमा विदेश आवतजावत गर्ने नेपालीका लागि यो सेवा उपयोगी हुनेछ ।

विदेश यात्राका क्रममा इन्टरनेट पहुँच र आवश्यक कागजातको व्यवस्थापनलाई सहज बनाउन यो सेवा ल्याइएको बैंकले जनाएको छ । अन्तर्राष्ट्रिय डेटा सेवामार्फत विदेश पुगेपछि स्थानीय सिमकार्ड खरिद वा परिवर्तन गर्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवाले आवेदन प्रक्रियालाई सरल, छिटो र व्यवस्थित बनाउने विश्वास गरिएको छ ।

यस सेवाको अर्को विशेषता भनेको ग्राहकले अन्तर्राष्ट्रिय डेटा सेवा र अन्तर्राष्ट्रिय सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवाको शुल्क कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत नेपाली रुपैयाँमै भुक्तानी गर्न सक्ने सुविधा हो । यसले विदेशी मुद्रामा भुक्तानी गर्ने वैकल्पिक माध्यम खोज्नुपर्ने आवश्यकता घटाउनुका साथै सम्पूर्ण प्रक्रिया थप सहज, सुरक्षित र ग्राहकमैत्री बन्ने बैंकको विश्वास छ ।

कुमारी बैंकले प्रविधिमा आधारित सेवा विस्तारलाई निरन्तर प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?