काठमाडौं । सिटिजन्स बैंकले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
गत आर्थिक वर्षमा बैंकका विभिन्न सामाजिक कार्यक्रमबाट हजारौँ नागरिक लाभान्वित भएका छन् ।
बैंकले सातै प्रदेशका १४८ शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । यसबाट करिब १० हजार विद्यार्थी, महिला, किसान, मजदुर र वैदेशिक रोजगारीमा जान लागेका व्यक्तिहरूले बचत, डिजिटल बैंकिङ, साइबर सुरक्षा र आर्थिक व्यवस्थापनबारे जानकारी पाएका छन् ।
बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापनका क्षेत्रमा हालसम्म १०० भन्दा बढी सामाजिक कार्यक्रम गरेको जनाएको छ । यी कार्यक्रमबाट देशभरका धेरै नागरिकले प्रत्यक्ष र अप्रत्यक्ष लाभ पाएका छन् ।
स्वास्थ्य क्षेत्रमा बैंकले बाराको विश्रामपुर गाउँपालिकामा निःशुल्क आँखा परीक्षण तथा मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा करिब ८०० जनाको आँखा परीक्षण गरिएको थियो भने मोतिबिन्दु देखिएका १५० जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो ।
त्यस्तै, बैंकले म्याग्दीको भगवती स्वास्थ्य चौकीलाई अस्पताल बेड, बेबी वार्मर, औषधि ट्रली र खानेपानीका लागि आवश्यक सामग्री सहयोग गरेको छ । यसबाट स्थानीयको स्वास्थ्य सेवामा सहजता आउने अपेक्षा गरिएको छ ।
वातावरण संरक्षणका लागि बैंकले ‘एक खाता, एक रुख’ अभियान सञ्चालन गरेको छ । विश्व वातावरण दिवस २०२५ को अवसरमा काठमाडौंको बूढानीलकण्ठस्थित चौकीडाँडा पर्यटकीय पार्कमा २५० भन्दा बढी बिरुवा रोपिएको थियो । देशका विभिन्न स्थानमा गरी कुल १ हजार ५०० बिरुवा रोपिएको बैंकले जनाएको छ ।
शिक्षा क्षेत्रमा बैंकले हुम्लाको अदानचुली गाउँपालिका–३ स्थित श्री छत्रपाल आधारभूत विद्यालयका २०५ जना विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेको छ । साथै दृष्टिविहीन विद्यार्थीलाई ब्रेल पेपर, ब्रेल स्लेट, ब्रेल स्टाइलस, विद्यालय झोला र अन्य शैक्षिक सामग्री पनि सहयोग गरेको छ ।
बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै समाज र राष्ट्रको विकासमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया