वार्ताको अन्तिम मौका दिँदै ट्रम्प, के इरान झुक्ला ?

लोकपथ
7
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्ता असफल भए पुनः कडा सैन्य कारबाहीमा फर्किने चेतावनी दिएका छन् ।

अमेरिकी अनलाइन न्युज पोर्टल Axios लाई दिएको अन्तर्वार्तामा ट्रम्पले इरानसँग गम्भीर वार्ता भइरहेको बताउँदै त्यसबाट सकारात्मक परिणाम नआए सैन्य विकल्प खुला रहेको स्पष्ट पारेका हुन् ।

‘हामी इरानसँग गम्भीर वार्ताको क्रममा छौं । यदि यसबाट सकारात्मक परिणाम निस्किएन भने हामी पुनः कडा सैन्य कारबाहीमा फर्किनेछौं,‘ ट्रम्पले भने ।

कूटनीतिक समाधानका लागि कति समय दिने भन्ने प्रश्नमा उनले प्रक्रिया लामो समयसम्म नचल्ने संकेत गरे । ‘हामीसँग धेरै समय छैन । यो प्रक्रिया या त छिट्टै टुङ्गिन्छ, नत्र अगाडि बढ्दैन,‘उनले बताए ।

ट्रम्पका अनुसार मध्यस्थकर्ता मुलुकहरू र क्षेत्रीय साझेदारहरूको आग्रहपछि शुक्रबारका लागि तय गरिएको सैन्य आक्रमणको निर्णय हाललाई स्थगित गरिएको हो । उनले अमेरिकी दबाबका कारण इरानी सैन्य क्षमता कमजोर भएपछि मात्र तेहरान वार्ताका लागि तयार भएको दाबीसमेत गरे ।

सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले वार्ताबाट सकारात्मक नतिजा आउने सम्भावना रहेको बताए । ‘हामी राम्रो वार्ता गरिरहेका छौं, हेरौं के हुन्छ । यदि वार्ता सफल भयो भने राम्रो हुन्छ, अन्यथा हामी दुई दिनअघिको स्थितिमा फर्किनेछौं,‘उनले भने ।

इरानसम्बन्धी विषयमा अमेरिकी प्रशासन र इजरायली सरकारको धारणा लगभग समान रहेको ट्रम्पको भनाइ छ ।

यसैबीच, हर्मोज जलसन्धि पार गर्ने क्रममा जहाजमाथि भएको आक्रमणबाट भएको क्षतिको भरपाई इरानी सम्पत्तिबाट गरिने उनले दोहोर्‍याए । ‘हामी उनीहरूले पुर्‍याएको क्षतिको भुक्तानीका लागि इरानकै पैसा प्रयोग गर्नेछौँ,‘ट्रम्पले भने ।

क्षेत्रीय स्रोतलाई उद्धृत गर्दै सार्वजनिक भएका विवरणअनुसार ओमान र इरानबीचको वार्तामा केही प्रगति भएको छ । यद्यपि, अहिलेसम्म कुनै औपचारिक सम्झौता भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?