२५०औँ स्वतन्त्रता दिवसअघि ट्रम्पको चेतावनी– ‘अमेरिकी पहिचान जोगाउनुपर्ने’

लोकपथ
14
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी पहिचानमाथि नयाँ चुनौती उत्पन्न भएको दाबी गर्दै देशभित्र कट्टरपन्थी र अतिवादी शक्तिबाट खतरा बढिरहेको बताएका छन् ।

दक्षिण डकोटास्थित माउन्ट रसमोरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ट्रम्पले अमेरिकी इतिहास, राष्ट्रिय पहिचान र देशभक्तिको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले अमेरिकाका चार पूर्वराष्ट्रपतिप्रति सम्मान व्यक्त गर्दै पछिल्ला वर्षहरूमा अमेरिकी चरित्र परिवर्तन गर्ने, राष्ट्रिय भावना कमजोर पार्ने र इतिहासबाट टाढा लैजाने प्रयास भएको आरोप लगाए ।

उनले देशभित्र साम्यवादी सोचको प्रभाव बढ्दै गएको दाबी गर्दै विशेषगरी डेमोक्रेटिक पार्टीभित्रको वामपन्थी धारप्रति लक्षित टिप्पणी गरे । ट्रम्पले आफू अमेरिकामा जन्मिएको नभए पनि अमेरिकी मूल्य, इतिहास र उपलब्धिलाई माया गर्ने सबैलाई देशले स्वीकार गर्ने बताए ।

माउन्ट रसमोरमा गरिएको ट्रम्पको सम्बोधनलाई उनका समर्थकहरूले विशेष महत्व दिएका छन् । केही समर्थकहरूले अमेरिकाका चार पूर्वराष्ट्रपतिसँगै ट्रम्पको आकृति पनि उक्त ऐतिहासिक स्मारकमा कुँद्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

यसैबीच, ट्रम्पले जुलाई ४ मा राजधानी वाशिङ्टन डीसीस्थित नेशनल मलमा चुनावी शैलीको विशेष कार्यक्रम आयोजना गर्ने घोषणा गरेका छन् । कार्यक्रममा सैन्य जेट विमानको प्रदर्शन तथा भव्य आतिशबाजी गरिने जनाइएको छ ।

अमेरिकाको २५०औँ स्वतन्त्रता दिवस नजिकिँदै गर्दा देशमा राजनीतिक ध्रुवीकरण थप गहिरिँदै गएको देखिएको छ। इरानसँगको तनाव, बढ्दो महँगी तथा आप्रवासन नीतिलाई लिएर ट्रम्प प्रशासन निरन्तर आलोचनामा परिरहेको छ ।

यसैबीच, क्विनिपियाक विश्वविद्यालयले सार्वजनिक गरेको सर्वेक्षणअनुसार ६१ प्रतिशत अमेरिकीले देश स्वतन्त्रताको घोषणापत्रमा उल्लेख गरिएका आदर्शअनुसार अघि बढ्न नसकेको धारणा व्यक्त गरेका छन् ।

लस एन्जलसकी शिक्षिका एमी किमाराले एएफपीसँग कुरा गर्दै अहिलेको राजनीतिक अवस्थाका कारण स्वतन्त्रता दिवसको उत्साह पहिलेजस्तो महसुस नभएको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?