काठमाडौं । फिफा विश्वकप २०२६ सँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी तथा अनलाइन जुवा गतिविधिविरुद्ध मलेसियामा सञ्चालन गरिएको राष्ट्रव्यापी विशेष अपरेसनमा ३३१ जना पक्राउ परेका छन् ।
मलेसियाको बुकिट अमन आपराधिक अनुसन्धान विभागका निर्देशक एम कुमार एस मुथुवेलुले विज्ञप्तिमार्फत पक्राउ परेकाहरूबाट करिब ३५ हजार अमेरिकी डलर नगद बरामद गरिएको तथा ६ लाख ४० हजार अमेरिकी डलरभन्दा बढीको सट्टेबाजी कारोबारको पर्दाफास भएको जानकारी दिएका छन् ।
मलेसियन कम्युनिकेसन एण्ड मल्टिमेडिया कमिसन (एमसीएमसी) को सहकार्यमा गत जुन ११ देखि सुरु भएको उक्त अपरेसन जुलाई १९ सम्म सञ्चालन हुनेछ । अपरेसनअन्तर्गत देशभर २९३ स्थानमा छापा मारिएको छ भने वेबसाइट तथा सामाजिक सञ्जालमार्फत भइरहेको जुवा प्रचार–प्रसार र सट्टेबाजी गतिविधिमाथि निगरानी बढाइएको छ ।
अधिकारीहरूका अनुसार हालसम्म फुटबल सट्टेबाजी र अनलाइन जुवाको प्रचारका लागि प्रयोग भइरहेका १८५ वटा वेबसाइट, विभिन्न अनलाइन प्लेटफर्म तथा सामाजिक सञ्जालका खाताहरू पहिचान गरिएको छ ।
मलेसियाली अधिकारीहरूले फिफा विश्वकपलाई लक्षित गरी बढ्न सक्ने अवैध सट्टेबाजी र जुवा गतिविधि नियन्त्रणका लागि अपरेसनलाई थप प्रभावकारी बनाइने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया