भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षतिको आशंका

लोकपथ
28
Shares

काठमाडौं । भेनेजुएलामा बुधबार राति लगातार दुईवटा शक्तिशाली भूकम्प गएका छन् । भूकम्पका कारण राजधानी काराकासका केही भवनहरूमा क्षति पुगेको छ । ठूलो मानवीय क्षति हुन सक्ने आशंका गरिएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिलो भूकम्प ७.२ म्याग्निच्युडको थियो । यो काराकासबाट करिब २८४ किलोमिटर पश्चिममा रहेको सान फेलिपे नजिक गएको थियो। त्यसको केही समयपछि युमारे क्षेत्रमा ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो ।

यूएसजीएसले प्रारम्भिक अनुमानमा भूकम्पबाट धेरै मानिस प्रभावित हुन सक्ने र ठूलो भौतिक क्षति भएको हुन सक्ने जनाएको छ ।

भूकम्पपछि डराएका मानिसहरू परिवार र घरपालुवा जनावर लिएर घरबाहिर निस्किएका छन् । धेरै ठाउँमा मानिसहरू सडकमा जम्मा भएका छन् ।

आन्तरिक मामिला मन्त्री डियोस्डाडो काबेलोका अनुसार काराकाससहित अन्य राज्यहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । विशेषगरी काराकासको अल्टामिरा क्षेत्रमा घर तथा भवनहरूमा क्षति पुगेको छ र केही मानिस घाइते भएको संकेत मिलेको छ ।

उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा खोज तथा राहत कार्य जारी राखेका छन् । क्षतिको वास्तविक विवरण आउन अझै केही समय लाग्ने बताइएको छ ।

यसअघि पोर्टो रिको र भर्जिन आइल्यान्डका लागि जारी गरिएको सुनामी चेतावनी भने पछि रद्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?