काठमाडौं । उत्तर–पश्चिम चीनको छिङहाइ प्रान्तस्थित हाइसी मङ्गोलियाली र तिब्बती स्वायत्त क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प गएको छ । यस घटनामा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
भूकम्पपछि उत्पन्न जोखिमलाई ध्यानमा राख्दै हजारौँ स्थानीय बासिन्दा, विद्यार्थी तथा शिक्षकहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
उनीहरूलाई पाँच वटा अस्थायी पुनर्वास केन्द्रहरूमा राखिएको छ, जहाँ आवश्यक खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्था गरिएको छ । सुरक्षाका कारण स्थानीय पर्यटकीय क्षेत्रहरू बन्द गरिएका छन् र त्यहाँ रहेका पर्यटकहरूलाई नजिकका अन्य सहरहरूमा स्थानान्तरण गरिएको छ ।
प्रभावित क्षेत्रमा राहत वितरण र उद्धार कार्यलाई तीव्र बनाउन केन्द्र तथा स्थानीय सरकारले आवश्यक सामग्रीहरू परिचालन गरेका छन् । घटनास्थलमा एक हजारभन्दा बढी उद्धारकर्मी तथा करिब दुई सय वटा सवारी साधन परिचालन गरिएको छ ।
चीन भूकम्प नेटवर्क केन्द्रका अनुसार मङ्गलबार अपराह्न पाँच बजेर छ मिनेटमा भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु दस किलोमिटर गहिराइमा रहेको थियो । यसको केन्द्र सैंतीस दशमलव आठ शून्य डिग्री उत्तर अक्षांश र पन्चानब्बे दशमलव पाँच छ डिग्री पूर्व देशान्तरमा रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया