ट्रम्पले भने– ‘इरानसँगको सम्झौता पूरा भयो, होर्मुज जलमार्ग खुल्छ’

लोकपथ
35
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच शान्ति सम्झौता भएको घोषणा गरेका छन् । उनले सम्झौतासँगै होर्मुज जलमार्ग पुनः खुल्ने र जहाजहरूको आवतजावत बिना कुनै अतिरिक्त शुल्क सञ्चालन हुने बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पनि अमेरिका र इरानबीच शान्ति सम्झौता भएको र त्यसको कार्यान्वयन सुरु भइसकेको जानकारी दिएका छन् । उनका अनुसार सम्झौतामा हस्ताक्षर आगामी शुक्रबार स्विट्जरल्यान्डमा हुनेछ ।

इरानका उपपरराष्ट्रमन्त्रीले समेत सम्झौताको पुष्टि गरेका छन् । उक्त सम्झौताले अमेरिका र इरानबीच लामो समयदेखि रहेको तनाव र वैमनस्यताको अन्त्य गर्ने अपेक्षा गरिएको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत सम्झौता सम्पन्न भएको जानकारी दिँदै होर्मुज जलमार्ग पूर्ण रूपमा खुला गरिने बताएका छन् । उनले अमेरिकी नौसैनिक नाकाबन्दी हटाउन आदेश दिइएको र विश्वभरका जहाजलाई निर्बाध रूपमा सञ्चालन गर्न आह्वान गरेका छन् ।

उनले यो सम्झौताले मध्यपूर्व क्षेत्रमा शान्ति, स्थिरता र आर्थिक गतिविधि विस्तार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । ट्रम्पले आफूभन्दा अघिका अमेरिकी राष्ट्रपतिहरूले इरानसँग शान्ति स्थापना गर्ने प्रयास गरे पनि सफल हुन नसकेको दाबी गर्दै यसपटक ऐतिहासिक उपलब्धि हासिल भएको बताएका छन् ।

ट्रम्पका अनुसार सम्झौतामा हस्ताक्षर भएसँगै बारुदी सुरुङ हटाउने काम सुरु हुनेछ र होर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा आउनेछ । यसबाट विश्व ऊर्जा आपूर्तिमा सहजता आउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शहबाज शरिफले सामाजिक सञ्जालमार्फत अमेरिका र इरानले लेबनानसहित सबै क्षेत्रमा सैन्य गतिविधि स्थायी रूपमा अन्त्य गर्ने सहमति गरेको जानकारी दिएका छन् । उनले वार्ता सफल बनाउन सहयोग पुर्‍याएकोमा कतारलाई धन्यवाद पनि दिएका छन् ।

कतारको विदेश मन्त्रालयले सम्झौताले समुद्री यातायातको स्वतन्त्रता सुनिश्चित गर्नुका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा आर्थिक स्थिरता कायम गर्न सहयोग पुग्ने जनाएको छ ।

बेलायतका प्रधानमन्त्री कियर स्टारमरले सम्झौताको स्वागत गर्दै आवश्यक प्राविधिक सहयोग गर्न आफ्नो देश तयार रहेको बताएका छन् । उनले होर्मुज जलमार्ग खुल्दा विश्व ऊर्जा बजारमा स्थिरता आउने विश्वास व्यक्त गरेका छन् ।

यस्तै, फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोँले पनि सम्झौताको स्वागत गर्दै सबै पक्षलाई यसको प्रभावकारी कार्यान्वयनमा जुट्न आग्रह गरेका छन् ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यो सम्झौताले मध्यपूर्वमा शान्ति र सहकार्यको नयाँ युग सुरु गर्न सक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?