अब भारतबाट एनएमबी खातामा तुरुन्तै पैसा आउने

लोकपथ
105
Shares

काठमाडौं । एनएमबी बैंकले नेपाल भारतबीच सहज र छिटो रकम पठाउन तथा प्राप्त गर्न मिल्ने नयाँ ‘इन्डो–नेपाल रेमिट्यान्स’ सेवा सुरु गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकका अनुसार नयाँ सेवामार्फत अब भारतबाट नेपालमा तथा नेपालबाट भारतमा सुरक्षित, सरल र छिटो तरिकाले रकम पठाउन र प्राप्त गर्न सकिनेछ । यस प्रणालीले परम्परागत रेमिट्यान्स प्रक्रियामा हुने झन्झट र ढिलाइलाई कम गर्ने बैंकको दाबी छ ।

सेवा सञ्चालनपछि भारतबाट पठाइएको रकम तुरुन्तै एनएमबी बैंकमा रहेको व्यक्तिगत खातामा जम्मा हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । यसका साथै लामो बैंक खाता नम्बर शेयर गर्नुपर्ने झन्झट हटाउन ग्राहकलाई छुट्टै भर्चुअल ठेगाना उपलब्ध गराइनेछ, जसको प्रयोगबाट सजिलै रकम पठाउन तथा मगाउन सकिने बैंकले जानकारी दिएको छ ।

बैंकका ग्राहकले मोबाइल बैंकिङ एप, बैंकको वेबसाइट वा शाखामार्फत यो सेवा प्रयोग गर्न सक्नेछन् । शाखामा पुगेर कर्मचारीको सहयोगमा पनि सेवा सक्रिय गर्न सकिने व्यवस्था गरिएको छ ।

बैंकका अनुसार भारतबाट घरखर्च वा व्यक्तिगत प्रयोजनका लागि रकम मगाउँदा ग्राहकलाई थप सहज हुने अपेक्षा गरिएको छ । ग्राहकको रकम सुरक्षित रहोस् भन्ने उद्देश्यले बैंकको आन्तरिक प्रणालीमार्फत निरन्तर निगरानी र सुरक्षा व्यवस्था समेत अपनाइएको जनाएको छ ।

हाल एनएमबी बैंकले देशभर १९८ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?