बजेटमा राष्ट्रिय गौरवका आयोजना छरिए, प्राथमिकता स्पष्ट हुन सकेन : सुरेन्द्र पाण्डे

लोकपथ
28
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले कतिपय क्षेत्रगत विषयमा पर्याप्त ध्यान दिन नसकेको टिप्पणी गरेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले राष्ट्रिय गौरवका आयोजनाको संख्या धेरै बनाए पनि ती आयोजनामा पर्याप्त बजेट विनियोजन गर्न नसकेको बताए ।

उनका अनुसार २४–२५ वटा राष्ट्रिय गौरवका आयोजनामा थोरै–थोरै बजेट छर्दा कुनै पनि आयोजना समयमै सम्पन्न हुन नसकेको अवस्था बनेको छ ।

पाण्डेले सरकारले स्पष्ट प्राथमिकता निर्धारण गरी सीमित र उच्च प्रतिफल दिने आयोजनामा स्रोत केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनका अनुसार सरकारसँग बहुमतको शक्ति भएकाले कम प्राथमिकताका आयोजनाबाट बजेट सारेर मुख्य परियोजनामा केन्द्रित गर्न सकिने अवस्था छ ।

उनले उदाहरण दिँदै द्रुतमार्गजस्ता ठूला आयोजना समयमै सम्पन्न भए वीरगञ्ज–काठमाडौं यात्रा समय उल्लेखनीय रूपमा घट्ने र त्यसले ढुवानी, व्यापार तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताए ।

पूर्वअर्थमन्त्री पाण्डेले अधिकांश मन्त्रालयको बजेट विगतकै निरन्तरतामा आधारित देखिएको उल्लेख गर्दै उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

व्यवसायीहरूले भोगिरहेको उधारो रकम असुलीको समस्या पनि गम्भीर रहेको उनको भनाइ थियो । उधारो असुलीका विषयमा प्रहरी प्रशासनले यसलाई निजी विषय भन्दै पन्छिने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले विकसित मुलुकहरूमा जस्तै प्रभावकारी कानुनी तथा संस्थागत संयन्त्र आवश्यक रहेको बताए ।

कृषि क्षेत्रबारे टिप्पणी गर्दै पाण्डेले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा देखिएको अनिश्चितताका कारण रासायनिक मलको अभाव र मूल्यवृद्धिको जोखिम बढ्न सक्ने चेतावनी दिए । उनले सरकारले समयमै मल आपूर्ति सुनिश्चित गर्नुपर्ने र कृषकलाई राहत तथा उत्पादन संरक्षणका कार्यक्रम प्रभावकारी बनाउनुपर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?