सीमित समूहको स्रोत कब्जा अन्त्य सरकारको सकारात्मक कदम : विनोद चौधरी

लोकपथ
28
Shares

काठमाडौं । उद्योगपति तथा सांसद विनोद चौधरी ले मुलुकमा सीमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्ति अन्त्य गर्ने सरकारको योजनालाई सकारात्मक भन्दै यसलाई छिटो कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघ ले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विगतमा स्रोत साधन सीमित समूहको नियन्त्रणमा रहने प्रवृत्ति रहे पनि त्यसलाई अन्त्य गर्ने सरकारको दृष्टिकोण स्वागतयोग्य रहेको टिप्पणी गरे ।

उनले अब पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले परियोजनाहरू अगाडि बढाउने वातावरण आवश्यक रहेको उल्लेख गरे । साथै प्रशासनिक, कानुनी, न्यायिक तथा सार्वजनिक सेवा प्रवाहमा भइरहेको सुधारलाई थप तीव्र बनाउनुपर्नेमा जोड दिए ।

ऊर्जा क्षेत्रलाई उदाहरण दिँदै चौधरीले विद्युत खरिद–विक्री सम्झौता ९पीपीए० को प्रतीक्षामा रहेका हजारौँ मेगावाट क्षमताका परियोजनाहरू लामो समयदेखि रोकिएको बताए । उनका अनुसार दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि पीपीए प्रक्रिया अपेक्षित रूपमा अघि बढ्न नसक्दा ५ हजार मेगावाटभन्दा बढी क्षमताका परियोजना प्रभावित भएका छन् ।

उनले निजी क्षेत्र लगानीका लागि पूर्ण रूपमा तयार रहेको भन्दै नेपालमा लगानीयोग्य पूँजी र जनशक्ति अभाव नभएको उल्लेख गरे । मुलुकमा देखिएको सकारात्मक परिवर्तनले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको चासो बढाएको पनि उनले बताए ।

चौधरीले ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू नेपालमा लगानी गर्न र नयाँ परियोजना अघि बढाउन इच्छुक देखिएको उल्लेख गर्दै ती अवसरलाई छिटो कार्यान्वयनमा रूपान्तरण गर्न सके मात्र आर्थिक रूपान्तरण सम्भव हुने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?