ग्लोबल आइएमई बैंकको अगुवाइमा सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब लगानी

लोकपथ
56
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा निर्माण हुन लागेको १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापनसम्बन्धी दुईपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रालि र सहभागी बैंकहरूबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दिपचन्द्र रेग्मी, क्रिष्टल पावर डेभलपमेण्टका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्य तथा सहअगुवाइ र सहभागी बैंकका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

करिब २५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइमा सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक र प्रभु बैंक सहअगुवाइमा रहेका छन् भने कृषि विकास बैंक र नेपाल एसबिआई बैंक सहभागी छन् । कन्सोर्टियममार्फत आयोजनामा करिब १९ अर्ब रुपैयाँ लगानी गरिने जनाइएको छ ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ तथा नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्नेछन् ।

सम्झौतापछि प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समयमै सम्पन्न भई देशको ऊर्जा उत्पादन क्षमता वृद्धि गर्न तथा विद्युत निर्यात प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले आयोजनाको सफल कार्यान्वयनका लागि शुभकामना समेत दिएका छन् ।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने सुपर तमोर जलविद्युत आयोजनामा बैंकहरूले कुल लागतको ७५ प्रतिशत लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत रकम संस्थापक तथा अन्य लगानीकर्ताबाट जुटाइनेछ । आयोजना निर्माण सुरु भएको मितिले पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

ग्लोबल आइएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘बेस्ट बैंक नेपाल २०२४, २०२५ र २०२६’, ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’ लगायतका अवार्ड प्राप्त गरिसकेको जनाएको छ ।

बैंकले देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्दै ३४४ शाखा कार्यालय, ३८५ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गरिरहेको जनाएको छ ।

यसका साथै बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?