नागढुंगा सुरुङ निर्माण परियोजनालाई जापानले थप साढे ५ अर्ब ऋण दिने

लोकपथ
49
Shares

काठमाडौं । जापान सरकारले नागढुंगा सुरुङमार्ग निर्माण परियोजनाका लागि नेपाललाई थप ५ दशमलव ७ अर्ब येन अर्थात् करिब ५ अर्ब ५० करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा उक्त अतिरिक्त ऋण सहायता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत मैदा तोरु ले हस्ताक्षर गरेका थिए ।

नागढुंगा सुरुङमार्ग निर्माण परियोजनाका लागि जापान सरकारले यसअघि सन् २०१६ डिसेम्बरमा १६ दशमलव ६३६ अर्ब येन ऋण सहायता उपलब्ध गराउने सम्झौता गरेको थियो । निर्माण सामग्रीको मूल्यवृद्धि तथा अन्य प्राविधिक कारणले लागत बढेपछि थप ऋण सहायता दिने सहमति भएको हो ।

यस नयाँ सम्झौतासँगै नागढुंगा सुरुङ परियोजनाका लागि जापानले उपलब्ध गराउने कुल ऋण रकम २२ दशमलव ३३६ अर्ब येन पुगेको छ ।

सन् २०१९ देखि निर्माण सुरु भएको नागढुंगा सुरुङमार्गलाई नेपालको महत्वपूर्ण पूर्वाधार परियोजनामध्ये एक मानिन्छ । काठमाडौंस्थित जापानी दूतावास ले जारी गरेको विज्ञप्तिमा यो परियोजनाले नेपाली युवा इन्जिनियरहरूलाई उन्नत जापानी प्रविधि र सीप हस्तान्तरण गर्ने अवसर प्रदान गरेको उल्लेख गरिएको छ ।

दूतावासका अनुसार परियोजनाबाट दीर्घकालीन रूपमा नेपाली जनताले लाभ प्राप्त गर्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?