युक्रेनमा रुसको भीषण हमला, ९ जनाको मृत्यु, दर्जनौँ घाइते

लोकपथ
0
Shares

किएभ । युक्रेनमा भएको रुसी मिसाइल तथा ड्रोन आक्रमणका कारण ९ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन् । 

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले नयाँ आक्रमण को तयारी गरिरहेको चेतावनी दिएको केही दिनपछि आक्रमण भएको जनाइएको छ ।

हाल घातक द्वन्द्व अन्त्य गर्ने वार्ता ठप्प रहेको छ भने सन् २०२२ मा आक्रमण सुरु गरेदेखि मस्कोले युक्रेनमा लगभग हरेक दिन आक्रमण गर्दै आएको छ ।

युक्रेनको राजधानीमा धेरै विस्फोटहरू भएको उल्लेख गर्दै रुसले ब्यालेस्टिक मिसाइलहरू प्रहार गरी आगो लगाएको र धेरै जिल्लामा बिजुली कटौती गरेको एएफपीले बताएको छ । 

सहरका मेयर भिटाली क्लिट्स्कोले सामूहिक आक्रमणमा चार जनाको मृत्यु भएको र दुई बालबालिका सहित कम्तीमा ५८ जना घाइते भएको बताएमा छन् । सहरमा विस्फोट भइरहेको जनाउँदै एयर डिफेन्स फोर्सले काम गरिरहेको र सुरक्षित स्थानमा बस्न क्लिट्स्कोले पहिले नै चेतावनी दिएका थिए । 

किएभ सहरको केन्द्रबाट धुवाँको ठूलो मुस्लो निस्कँदै गर्दा स्थानीय बासिन्दाहरू झोला र कम्बलहरू समातेर आश्रय स्थलहरूमा हतार–हतार जाँदै गरेको एएफपीले जनाएको छ ।   रुसले ब्यालेस्टिक मिसाइलले प्रहार गरिरहेको किएभको सिटी मिलिटरी एडमिनिस्ट्रेशनका प्रमुख तिमुर टाकाचेन्कोले पुष्टि गरेका छन् । 

यसैगरी अन्य विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण भएको रिपोर्ट गरिएको थियो । 

डिनिप्रो सहरमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएको स्थानीय गभर्नर ओलेक्सान्डर गान्झाले बताएका छन् । 

मेयर इगोर तेरेखोभका अनुसार खार्किव सहरमा एक बालकसहित १० जना घाइते भएका छन् ।

यसैबीच, युक्रेनी सीमा नजिकै रुसको कुस्र्क क्षेत्रमा भएको युक्रेनी आक्रमणमा एक व्यक्तिको मृत्यु भएको क्षेत्रीय गभर्नर अलेक्जान्डर खिन्स्टेनले बताएका छन् । 

एयर अलर्टहरू मार्फत आफ्नो जीवन बचाउन आग्रह गर्दै हवाई सेवाहरू कुशलता पूर्वक काम गरिरहेको वायु सेना अन्य रक्षकहरू सधैँ जस्तै ड्युटीमा तैनाथ रहेको सूचना जारी गरिएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी ब्यालेस्टिक मिसाइलहरूलाई रोक्न सक्ने प्याट्रियट मिसाइलहरूको आपूर्तिलाई अनुमति दिन र वित्त पोषण गर्न सहयोगीहरूलाई आह्वान गरेका छन् । पछिल्लो समयमा युक्रेनले पनि दैनिक रुसी बमबारीको बदलामा कब्जा गरिएका क्षेत्रहरू र सीमावर्ती रुसी क्षेत्रमाथि आक्रमण बढाएको जनाइएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?