पाकिस्तानमा रेल स्टेशनमा बम विस्फोट : २४ जनाको मृत्यु, ८२ घाइते

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटास्थित रेलवे स्टेशनमा आइतबार बिहान भएको शक्तिशाली बम विस्फोटमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार जाफर एक्सप्रेसको शटल रेललाई लक्षित गरी विस्फोट गराइएको हो । ईदको बिदा मनाउन घर फर्किन लागेका सुरक्षाकर्मीहरू सवार उक्त रेल क्वेटा क्यान्टोन्मेन्ट स्टेशनबाट प्रस्थान गर्ने तयारीमा रहेका बेला स्थानीय समयअनुसार बिहान करिब ८ बजे विस्फोट भएको बताइएको छ ।

विस्फोट यति शक्तिशाली थियो कि रेलका केही डिब्बा पटरीबाट खसेका छन् भने दुईवटा डिब्बामा आगलागी समेत भएको छ । घटनाका कारण स्टेशन आसपास रहेका केही सवारी साधनमा पनि क्षति पुगेको छ ।

उद्धारमा खटिएका अधिकारीहरूका अनुसार मृतक तथा घाइतेमध्ये सर्वसाधारण महिला र बालबालिका समेत रहेका छन् । घाइतेमध्ये ५७ जनालाई स्थानीय सैन्य अस्पताल तथा २५ जनालाई क्वेटास्थित सिभिल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार घटना आत्मघाती आक्रमण हुन सक्ने आशंका गरिएको छ । सुरक्षा निकायले आक्रमणकारीले ७० किलोग्रामभन्दा बढी विस्फोटक पदार्थ भरिएको सुसाइड भेइकल–बोर्न इम्प्रोभाइज्ड एक्स्प्लोसिभ डिभाइस प्रयोग गरेको हुनसक्ने जनाएको छ ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?