काठमाडौं । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ । स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ बजे गोली चलेको हो । ह्वाइट हाउस नजिकैको १७ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु क्षेत्रमा यो घटना भएको हो ।
गोली चलाउने एक संदिग्ध बन्दुकधारीको अमेरिकी गुप्तचर निकाय (सिक्रेट सर्विस) को जवाफी कारबाहीमा मृत्यु भएको छ ।
ती व्यक्तिले अचानक आफ्नो झोलाबाट हतियार निकालेर जथाभाबी गोली चलाउन सुरु गरेको र ड्युटीमा रहेका सिक्रेट सर्विसका प्रहरी एजेन्टहरूले तुरुन्तै जवाफी कारबाही गर्दै संदिग्धमाथि गोली चलाएको अमेरिकी सिक्रेट सर्विसले जारी गरेको आधिकारिक विज्ञप्तिमा भनिएको छ । गोली लागेर गम्भीर घाइते भएका ती बन्दुकधारीलाई तत्कालै अस्पताल लगिएकोमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ ।
घटनामा एक सर्वसाधारण व्यक्ति पनि गोली लागेर घाइते भएका छन् । तर उनको अवस्था कस्तो छ भन्ने स्पष्ट भइसकेको छैन । घाइतेलाई लागेको गोली कसले चलाएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । रोयटर्सका अनुसार, ती व्यक्ति मानसिक रूपमा अस्थिर रहेको र यसअघि उनलाई उक्त क्षेत्रबाट टाढा रहन आदेश जारी गरिएको एक सुरक्षा अधिकारीले बताएका छन् । घटनामा कुनै सुरक्षाकर्मी घाइते नभएको जनाइएको छ ।
सिक्रेट सर्विसका अनुसार घटनाको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै थिए । तर, यो घटनाबाट राष्ट्रपति वा अन्य कुनै विशिष्ट व्यक्तिको सुरक्षामा कुनै आँच नआएको र ह्वाइट हाउसको कार्यसञ्चालनमा कुनै असर नपरेको सीबीएस न्युजले जनाएको छ ।
सिक्रेट सर्विस र स्थानीय प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाएका छन् । बन्दुकधारीको पहिचान र उनको उद्देश्यबारे थप विवरण आउन बाँकी छ ।
पछिल्ला दिनमा अमेरिकी राष्ट्रपतिको सरकारी निवास क्षेत्रमा यस्ता घटना हुन थालेको छ । एक महिना अघि मात्रै ह्वाइट हाउसमै पत्रकारहरूका लागि आयोजना गरिएको डिनरमा एक बन्दुकधारीले गोली चलाएका थिए । त्यसबेला गोलीबारीको आवाज सुन्नासाथ ह्वाइट हाउस परिसरमा रहेका दर्जनौँ पत्रकारहरूलाई सुरक्षाकर्मीहरूले सुरक्षित रूपमा ‘प्रेस ब्रिफिङ रुम’ भित्र लगेका थिए । त्यसपछि ह्वाइट हाउसलाई पूर्णरूपमा लकडाउन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया