चीनको कोइलाखानीमा ग्यास सिलिन्डर विस्फोट, ८२ जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । चीनको उत्तरी शान्सी प्रान्तस्थित एक कोइलाखानीमा ग्यास विस्फोट हुँदा कम्तीमा ८२ जनाको मृत्यु भएको छ । ठूलो संख्यामा कामदार अझै भूमिगत रूपमा थुनिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार चाङझाउ सहरको लिउसेनयु कोइला खानीमा शुक्रबार साँझ दुर्घटना भएको हो । विस्फोट भएको समयमा खानीभित्र २४७ जना कामदार कार्यरत रहेका थिए ।

सुरुमा आठ जनाको मृत्यु भएको र ३८ जना बेपत्ता रहेको जानकारी सार्वजनिक गरिएको थियो । तर, पछि उद्धार कार्यका क्रममा मृतकको संख्या बढेर ८२ पुगेको पुष्टि गरिएको छ ।

दुर्घटनापछि व्यापक उद्धार अभियान सञ्चालन गरिएको छ । विस्फोटको कारणबारे अनुसन्धान भइरहेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

चिनियाँ राष्ट्रपतिसी जीपीङले बेपत्ता कामदारहरूको उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । उनले दुर्घटनाको गम्भीर छानबिन गर्न तथा दोषीमाथि कडा कारबाही गर्नसमेत आग्रह गरेका छन् ।

शान्सी प्रान्त चीनको प्रमुख कोइला उत्पादन क्षेत्रमध्ये एक मानिन्छ । करिब तीन करोड ४० लाख जनसंख्या रहेको यस क्षेत्रमा लाखौँ मजदुर कोइला उद्योगमा आबद्ध छन् । गत वर्ष मात्रै शान्सी प्रान्तबाट करिब १.१७ अर्ब मेट्रिक टन कोइला उत्पादन भएको थियो, जुन चीनको कुल कोइला उत्पादनको झन्डै एक तिहाइ हिस्सा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?