चीन । उत्तरी चीनको शानक्सी प्रान्तस्थित लिउसेनयु कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३८ जना अझै बेपत्ता रहेका छन् ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार साँझ ७ः२९ बजे भएको विस्फोटका बेला खानीभित्र २४७ जना कामदार कार्यरत थिए । तीमध्ये २०१ जनालाई शनिबार सुरक्षित रूपमा उद्धार गरिएको जनाइएको छ ।
स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूलाई उद्धृत गर्दै सिन्ह्वाले घटनामा आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ । बेपत्ता कामदारहरूको खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ ।
घटनापछि राष्ट्रपति सी जीनपीले घाइतेहरूको उपचारका लागि सम्भावित सबै प्रयास गर्न निर्देशन दिँदै दुर्घटनाको गहन अनुसन्धान गर्न आग्रह गरेका छन् ।
उनले सबै क्षेत्र र विभागलाई यस घटनाबाट पाठ सिकेर कार्यस्थल सुरक्षामा थप सतर्कता अपनाउन तथा यस्ता विनाशकारी दुर्घटना रोक्न आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।
यसअघि सिन्ह्वाले खानीभित्र कार्बन मोनोअक्साइडको मात्रा अत्यधिक विषाक्त स्तरमा पुगेको जनाएको थियो । बेपत्ता रहेका केही कामदारको अवस्था गम्भीर हुन सक्ने आशंका गरिएको छ ।
चीनमा पछिल्लो समय खानी सुरक्षामा केही सुधार आएको दाबी गरिए पनि पर्याप्त सुरक्षा प्रबन्धको अभावका कारण यस्ता दुर्घटना अझै दोहोरिने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया