इरानले स्ट्रेट अफ हर्मुजमाथि आफ्नो नियन्त्रण अझ कडा बनायो

लोकपथ
0
Shares

काठमाडौं । इरानले विश्वकै संवेदनशील समुद्री व्यापार मार्गमध्ये एक स्ट्रेट अफ हर्मुजमाथिको नियन्त्रण थप कडा बनाएको छ । इरानले नयाँ ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ (पिजिएसए) गठन गर्दै जलघाँटी पार गर्ने जहाजका लागि अनिवार्य अनुमति र समन्वय व्यवस्था लागू गरेको जनाएको छ ।

पिजिएसएले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको विवरणअनुसार नयाँ पर्यवेक्षण तथा व्यवस्थापन क्षेत्र इरानको कुह मोबारकदेखि संयुक्त अरब इमिरेट्सको फुजैराको दक्षिणी समुद्री क्षेत्रसम्म विस्तार गरिएको छ । यो क्षेत्र स्ट्रेट अफ हर्मुजको पूर्वी भागमा पर्ने बताइएको छ ।

नयाँ व्यवस्थाअनुसार अब हर्मुज जलघाँटी हुँदै यात्रा गर्ने सबै जहाजहरूले ‘पर्सियन खाडी जलमार्ग व्यवस्थापन’ निकायसँग पूर्वसमन्वय गर्नुपर्नेछ । पिजिएसएबाट अनुमति नलिई कुनै पनि जहाजलाई उक्त क्षेत्रमा प्रवेश गर्न नदिइने स्पष्ट पारिएको छ ।

इरानले जलमार्गको सुरक्षा, सञ्चालन र निगरानीलाई व्यवस्थित तथा संस्थागत बनाउन यस्तो कदम चालिएको जनाएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले समेत पिजिएसएको आधिकारिक एक्स खाता सक्रिय भइसकेको जानकारी सार्वजनिक गर्दै नयाँ निकाय पूर्ण रूपमा सञ्चालनमा आएको पुष्टि गरेको छ ।

यो घोषणा अमेरिका र इरानबीच जारी शान्ति तथा आणविक वार्तामा प्रगति हुन नसकेको अवस्थामा आएको हो । वासिङ्टनले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा रोक्न दबाब दिइरहेको छ भने तेहरानले स्ट्रेट अफ हर्मुजमाथिको नियन्त्रणलाई आफ्नो राष्ट्रिय सार्वभौम अधिकारको विषय बताउँदै आएको छ ।

विश्लेषकहरूले इरानको यो कदमलाई विश्व ऊर्जा आपूर्ति प्रणालीसँग जोडिएको रणनीतिक सन्देशका रूपमा व्याख्या गरेका छन् । स्ट्रेट अफ हर्मुज विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक मानिन्छ, जहाँबाट विश्वको ठूलो हिस्सा कच्चा तेल तथा ऊर्जा आपूर्ति हुने गर्दछ ।

यसअघि इरानी सरकारी सञ्चारमाध्यम प्रेस टिभीले पनि तेहरानले स्ट्रेट अफ हर्मुज हुँदै हुने समुद्री आवागमन नियन्त्रण गर्न नयाँ संयन्त्र लागू गरेको जनाएको थियो । नयाँ संरचनाअन्तर्गत अब जलमार्ग प्रयोग गर्न चाहने जहाजहरूले पूर्वअनुमति लिनुपर्ने र जारी गरिएका निर्देशन अनिवार्य रूपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।

हाल अमेरिका–इजरायल गठबन्धन र इरानबीच बढ्दो तनावका बीच इरानले समुद्री मार्गमाथिको निगरानी र प्रशासनिक नियन्त्रणलाई थप औपचारिक तथा कडा बनाएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?