काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्सबिच सम्झौता भएको छ ।
आर्थिक तथा व्यावसायिक क्षेत्रका तथ्याङ्क विकास, व्यवस्थापन तथा राष्ट्रिय आर्थिक गणना २०८२ लाई प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौतापत्रमा राष्ट्रिय तथ्याङ्क कार्यालयका तर्फबाट उपप्रमुख तथ्याङ्क अधिकारी (सहसचिव) ढुण्डिराज लामिछाने तथा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट महानिर्देशक देवेन्द्र लामिछानेले हस्ताक्षर गरेका हुन् । उक्त समझदारी २०८३ साल जेठ ५ गतेदेखि लागू हुने जनाइएको छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी कमलप्रसाद पोखरेलले राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत हालसम्म ८ लाख ३१ हजारभन्दा बढी आर्थिक प्रतिष्ठानहरूको गणना सम्पन्न भएको जानकारी दिए ।
उनले २०७५ सालको पहिलो आर्थिक गणनामा ९ लाख २३ हजार प्रतिष्ठान समेटिएको स्मरण गर्दै यसपटक करिब १५ लाख प्रतिष्ठान समेट्ने लक्ष्य रहेको बताए ।
वैशाख २ गतेदेखि सुरु भएको स्थलगत गणना कार्य असार ७ गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उनले हालसम्मको प्रगति उत्साहजनक रहेको र लक्ष्य हासिल हुने विश्वास व्यक्त गरे । आर्थिक गणनालाई सफल बनाउन निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको भन्दै नेपाल चेम्बर अफ कमर्ससँगको समझदारीले अभियानलाई थप प्रभावकारी बनाउने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले राष्ट्रिय आर्थिक गणना राष्ट्रको आर्थिक ऐना भएको उल्लेख गर्दै विश्वसनीय तथ्याङ्क बिना दीर्घकालीन आर्थिक योजना प्रभावकारी बन्न नसक्ने बताए ।
उनले बदलिँदो आर्थिक संरचना, अनौपचारिक क्षेत्रको आकार, लगानी प्रवृत्ति, रोजगारीको अवस्था तथा सेवा, पर्यटन, सूचना प्रविधि र नवप्रवर्तनमुखी व्यवसायहरूको यथार्थ चित्रणका लागि अद्यावधिक तथ्याङ्क अत्यावश्यक रहेको धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया