काठमाडौं । पर्यटकीय राजधानी पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायमा विकृति र असुरक्षा बढेको भन्दै पर्यटनसँग संवद्ध संघसंस्थाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
चौबिसै घण्टा व्यवसाय सञ्चालन गर्ने खुकुलो नीतिका कारण पर्यटकीय बजार मर्यादित बन्नुको साटो सामाजिक विकृति मौलाएको भन्दै पर्यटन व्यवसायीहरूले राति २ बजेपछि व्यवसाय बन्द गर्न र अनुगमनमा कडाइ गर्न माग गरेका हुन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन क्षेत्रसँग आवद्ध १५ वटा संस्थाहरूले कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई संयुक्तरूपमा ज्ञापनपत्र बुझाउँदै रात्रिकालीन व्यवसायलाई व्यवस्थित गर्न माग गरे ।
सरकारले २०८० चैत ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै लेकसाइड क्षेत्रलाई चौबिसै घण्टा खुला राख्ने निर्णय गरेको थियो । तर उक्त निर्णयपश्चात मापदण्ड पालना नहुँदा र फितलो अनुगमनका कारण शान्ति सुरक्षामा समेत गम्भीर असर परेको व्यवसायीहरूको ठहर छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार रात्रिकालीन व्यवसाय सञ्चालनका लागि तय गरिएका आचारसंहिता र मापदण्ड व्यवसायीहरूले पूर्णरूपमा पालना गरेका छैनन् । डान्स बार, दोहोरी साँझ र क्लवहरूले सामाजिक उत्तरदायित्व र ग्राहकको सुरक्षालाई बेवास्ता गर्दा स्थानीय नागरिक समाजमा समेत असन्तुष्टि बढेको छ ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै पोखरा शहर २४सै घण्टा खुला राख्ने सरकारको निर्णयप्रति होटल संघ पोखराले असन्तुष्टि व्यक्त गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले पर्याप्त छलफल र पूर्वतयारी बिना नै ल्याइएको यो अवधारणा प्रभावकारी नभएको टिप्पणी गरेका छन् । अध्यक्ष सुवेदीका अनुसार पोखरा आउने आन्तरिक तथा वाह्य पर्यटकहरूले समयमै खानपान गर्ने अभ्यास रहेकाले मध्यरातमा बजार खुला राख्नुको औचित्य देखिएको छैन ।
व्यवसायीहरूका अनुसार २४सै घण्टा बजार खुला रहँदा पर्यटकीय गतिविधि बढ्नुको साटो स्थानीय युवापुस्तामा नकारात्मक असर परिरहेको छ । डिस्को, क्लव र दोहोरी साँझ जस्ता रात्रिकालीन व्यवसायहरूले युवाहरूलाई गलत बाटोतर्फ डोहोर्याएको तर त्यसबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेको संघको ठहर छ ।
पोखरालाई पर्यटकीय राजधानीको ‘उपहार’ स्वरूप २४सै घण्टा खुला गर्ने निर्णय हतारमा गरिएको बताउँदै अध्यक्ष सुवेदीले यसका लागि हुनुपर्ने न्यूनतम बहस र तयारी नगरिएको गुनासो गरे । केही पर्यटन व्यवसायीहलाई मात्र सहभागी गराएर हस्ताक्षर गराउँदैमा यस्तो संवेदनशील निर्णय कार्यान्वयन गर्न कठिन हुने उनको तर्क छ ।
पोखरा महानगरपालिका वडा नम्बर ६ का स्थानीय बासिन्दाले रात्रिकालीन व्यवसायका कारण उत्पन्न सामाजिक समस्या र बेथितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । विशेषगरी पर्यटकीय क्षेत्रमा सञ्चालित क्लव तथा डान्स बारहरूका कारण स्थानीयको जनजीवन प्रभावित भएको उनीहरूको भनाइ छ ।
महिला सञ्जाल पोखरा–६ की अध्यक्ष बविता मल्लले रात्रिकालीन समयमा सञ्चालन हुने डान्स बार र क्लबका कारण स्थानीयले सास्ती खेप्नुपरेको बताइन् । मल्लका अनुसार रातभर डान्स बारमा व्यस्त रहने ग्राहक तथा कामदारहरू बिहान सबेरैसम्म पनि मदिराले लठ्ठ अवस्थामा भेटिने गरेका छन् ।
रात्रिकालीन व्यवसायमा संलग्न व्यक्तिहरू र त्यहाँ जाने ग्राहकहरूको अमर्यादित व्यवहारले टोल छिमेकमा नकारात्मक असर पुगेको भन्दै स्थानीयले यसको उचित व्यवस्थापन र नियमनका लागि ध्यानाकर्षण गराएका छन् । रातभर सञ्चालन हुने यस्ता गतिविधिले एकातिर ध्वनि प्रदुषण बढाएको छ भने अर्कोतिर विहानको समयमा हिँडडुल गर्ने सर्वसाधारणले असुरक्षित र असहज महसुस गर्ने गरेका छन् ।
पर्यटकीय राजधानी पोखराको गरिमा बचाउन र पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउन रात्रिकालीन व्यवसायको उचित व्यवस्थापन अनिवार्य देखिएको छ । व्यवसायीको लापरवाही र नियमनकारी निकायको मौनताले गर्दा पर्यटन क्षेत्र थप जटिल मोडमा पुग्ने जोखिम बढेको भन्दै सरोकारवालाहरूले तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।
कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भने होटल तथा पर्यटन क्षेत्रको प्रभावकारी नियमन र व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी ठोस निर्णय लिइने बताइन् । होटल तथा पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी शर्माले व्यवसाय सञ्चालनका सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेका मापदण्डहरूको पूर्ण कार्यान्वयनमा जोड दिइन् ।
उनले व्यवसायलाई मर्यादित बनाउन व्यवसायीहरू आफैँले पनि आन्तरिक नियमन गर्नुपर्ने र तोकिएका मापदण्ड पालना भए/नभएको विषयमा प्रशासनले नियमित अनुगमन गर्ने स्पष्ट पारिन् ।
प्रजिअ शर्माले पर्यटन क्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधान गर्न पोखरा महानगरपालिका लगायत अन्य सरोकारवाला निकायहरूसँग पुनः वृहत छलफल गरिने जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया