इस्लामिक स्टेटका वरिष्ठ कमान्डर मारिएको ट्रम्पको दाबी

लोकपथ
49
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी र नाइजेरियाली सेनाको संयुक्त कारबाहीमा इस्लामिक स्टेट (आईएस)का एक वरिष्ठ कमान्डर अबु–बिलाल अल–मिनुकी मारिएको दाबी गरेका छन् ।

शनिबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै ट्रम्पले अल–मिनुकी आईएसको विश्वव्यापी संरचनामा दोस्रो मुख्य कमान्डरको भूमिकामा रहेको र बताएका छन् ।

ट्रम्पले लेखेका छन्, ‘अब उसले अफ्रिकाका जनतालाई आतंकित पार्ने वा अमेरिकीहरूलाई लक्षित गर्ने गतिविधिमा सहयोग गर्न सक्ने छैन ।’

उनले अल–मिनुकीको मृत्युपछि आईएसको अन्तर्राष्ट्रिय सञ्चालन क्षमता कमजोर भएको दाबी गर्दै अभियानमा सहयोग गरेकोमा नाइजेरिया सरकारलाई धन्यवाद दिएका छन् ।

यद्यपि, अमेरिकी वा नाइजेरियाली सेनाले यसबारे विस्तृत आधिकारिक विवरण सार्वजनिक गरेका छैनन् । हालसम्म आईएस वा त्यससँग सम्बन्धित समूहहरूले पनि ट्रम्पको दाबीबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

नाइजेरियाले लामो समयदेखि विभिन्न सशस्त्र इस्लामवादी समूहहरूको हिंसा सामना गर्दै आएको छ । विशेषगरी बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्सजस्ता समूहहरूले उत्तरपूर्वी नाइजेरियामा लगातार आक्रमण गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?