पश्चिम एसियामा फेरि तनाव चुलियो, इरान–अमेरिकाबिच समुद्री क्षेत्र केन्द्रीत आरोप–प्रत्यारोप

लोकपथ
35
Shares

काठमाडौं । पश्चिम एसियामा फेरि तनाव बढेको छ । इरानले आफ्नो तेल निर्यात प्रभावित गर्ने प्रयास भएको भन्दै ओमानको खाडीमा एउटा तेल ट्यांकर ‘ओसन कोई’ कब्जामा लिएको दाबी गरेको छ ।

इरानी सेनाका अनुसार उक्त जहाजलाई दक्षिणी तटीय क्षेत्रतर्फ लगेर न्यायिक निकायलाई सुम्पिएको छ । साथै, इरानले होर्मुज जलमार्ग नजिकै अमेरिकी युद्धपोतलाई लक्षित गर्दै क्रुज मिसाइल, रकेट र ड्रोन प्रयोग गरिएको दाबीसमेत गरेको छ ।

इरानका अनुसार यो कारबाही अमेरिकी सेनाले इरानी तेल ट्यांकरहरूमाथि गरेको आक्रमणको जवाफस्वरूप गरिएको हो । उक्त घटनापछि अमेरिकी युद्धपोतहरू क्षेत्रबाट पछि हटेको दाबी इरानले गरेको छ ।

यता, अमेरिकाको सेन्ट्रल कमान्डले भने इरानतर्फ गइरहेका दुई जहाज ‘एमरटीसी स्टार–३’ लाई निष्क्रिय पारिएको जनाएको छ । अमेरिकी पक्षका अनुसार ती जहाजहरूले प्रतिबन्ध उल्लंघन गर्दै इरानी बन्दरगाहतर्फ यात्रा गरिरहेका थिए ।

अमेरिकी नौसेनाको एफ–१८ सुपर हर्नेट लडाकु विमानले ती जहाजका संवेदनशील भागमा कारबाही गर्दै उनीहरूको अग्रसरता रोकेको बताइएको छ ।

इरानको विदेश मन्त्रालयले अमेरिकी कदमलाई अप्रिल ८ को युद्ध विराम सम्झौताको उल्लंघन भनेको छ । विदेशमन्त्री सैयद अब्बास अराघचीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै अमेरिकाले कूटनीतिक विकल्प हुँदाहुँदै सैन्य बाटो रोजेको आरोप लगाए ।

उनले इरानको मिसाइल क्षमता पहिलेभन्दा बलियो भएको र देश कुनै पनि दबाबमा नझुक्ने चेतावनी दिएका छन् ।

अमेरिकाले भने आफ्नो उद्देश्य तनाव बढाउनु नभएको र युद्ध विराम अझै प्रभावी रहेको स्पष्ट पारेको छ ।

विज्ञहरूले होर्मुज जलमार्गमा बढ्दो सैन्य गतिविधिले विश्वव्यापी तेल आपूर्ति र अन्तर्राष्ट्रिय राजनीतिक स्थिरतामा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?