काठमाडौं । इरानले अमेरिका माथि होर्मुज जलमार्ग क्षेत्रमा दुईवटा जहाजलाई निशाना बनाएको तथा नागरिक क्षेत्रहरूमा आक्रमण गरेर युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डले भने इरानतर्फबाट भएको उत्तेजक आक्रमणलाई अमेरिकी सेनाले बीचमै रोकेको र आत्मरक्षाका लागि जवाफी कारबाही गरिएको जनाएको छ ।
अलजजिराका अनुसार अमेरिकी नौसेनाका गाइडेड–मिसाइल विनाशक युद्धपोतहरू होर्मुज जलमार्ग हुँदै ओमानको खाडीतर्फ गइरहेका बेला उक्त घटना भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणका बाबजुद तीनवटा अमेरिकी युद्धपोतहरूले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरेको दाबी गरेका छन् । उनले अमेरिकी जहाजहरूमा कुनै क्षति नपुगेको तर अमेरिकी कारबाहीबाट इरानी सेनालाई ठूलो क्षति पुगेको बताएका छन् ।
सेन्ट्रल कमान्डले अमेरिकी सेनामाथि देखिएका खतरालाई निस्तेज पारिएको जनाएको छ । साथै अमेरिकी फौजमाथि आक्रमण गर्न प्रयोग गरिएका इरानी सैन्य संरचनाहरू, विशेषगरी मिसाइल तथा ड्रोन प्रक्षेपण स्थल, कमान्ड सेन्टर र निगरानी केन्द्रहरूमा आक्रमण गरिएको उल्लेख गरेको छ ।
सेन्ट्रल कमान्डले आफूहरूले तनाव बढाउन नचाहेको तर अमेरिकी सेनाको सुरक्षाका लागि पूर्ण तयारी अवस्थामा रहेको स्पष्ट पारेको छ ।
यता इरानको खातम अल–अम्बिया सैन्य मुख्यालयका प्रवक्ताले अमेरिकाले दुईवटा इरानी जहाजलाई निशाना बनाएको आरोप लगाएका छन् । तीमध्ये एउटा तेल ट्यांकर जास्कबाट होर्मुज जलमार्गतर्फ जाँदै गरेको र अर्को जहाज संयुक्त अरब इमिरेट्सको फुजैराह बन्दरगाह नजिक रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया