जर्मनीबाट ५ हजार अमेरिकी सैनिक फिर्ता गर्ने ट्रम्पको घोषणा, नेटोले माग्यो विस्तृत विवरण

लोकपथ
56
Shares

एजेन्सी । अमेरिकाले जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने निर्णय आगामी ६ देखि १२ महिनाभित्र कार्यान्वयन गर्ने तयारी गरेको छ ।

पेन्टागनका प्रवक्ता सन पार्नेलका अनुसार यो कदम युरोपमा अमेरिकी सुरक्षा बलको अवस्थाबारे गरिएको व्यापक समीक्षापछि लिइएको हो ।

मध्यपूर्वमा जारी युद्धका कारण ट्रान्सएटलान्टिक सम्बन्धमा देखिएको तनावबीच यो निर्णय आएको हो । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले शनिबार अमेरिकासँग समन्वय गरी उक्त निर्णयको प्रभाव र आवश्यकताको अध्ययन गरिरहेको जनाएको छ ।

पेन्टागनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णय युरोपमा रहेका अमेरिकी सुरक्षा बलको आवश्यकता र सर्तहरूको पुनर्मूल्यांकनपछि गरिएको हो ।’

तथ्यांक अनुसार, सन् २०२५ डिसेम्बर ३१ सम्म जर्मनीमा ३६ हजार ४३६ सक्रिय अमेरिकी सैनिक तैनाथ रहेका थिए । त्यस्तै इटालीमा १२ हजार ६६२ र स्पेनमा तीन हजार ८१४ सैनिक रहेका छन् ।

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले अमेरिकाले युरोप र जर्मनीबाट थप सैनिक फिर्ता गर्न सक्ने सम्भावनाबारे संकेत गरेका छन् । उनले भने, ‘यस्तो निर्णयको अपेक्षा गर्न सकिन्छ ।’

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघसँगको व्यापार विवादलाई पनि कडा बनाएका छन् । उनले आगामी हप्तादेखि युरोपेली संघबाट आयात हुने कार र ट्रकमा लाग्दै आएको कर बढाएर २५ प्रतिशत पुर्‍याउने घोषणा गरेका छन् । यसअघि युरोपेली संघले व्यापार सम्झौताको पालना नगरेको आरोप अमेरिकामाथि लगाएको थियो ।

नेटोका प्रवक्ता एलिसन हार्टले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै यस समायोजनले युरोपेली मुलुकहरूले आफ्नो प्रतिरक्षा खर्च बढाउनुपर्ने आवश्यकतालाई थप स्पष्ट पारेको बताइन् । उनले भनिन्, ‘हाम्रो साझा सुरक्षाका लागि युरोपले अझ ठूलो भूमिका खेल्नुपर्ने आवश्यकता यसले देखाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?