काठमाडौं । अमेरिका र इरानबीच शान्ति वार्ताको नयाँ चरण सुरु गर्ने प्रयासस्वरूप अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामावाद पुगेको छ । अमेरिकी पक्षबाट स्टिभ विटकोफ र जारेड कुश्नर वार्ताका लागि प्रस्थान गरेका हुन् ।
तर इरानी सञ्चारमाध्यमका अनुसार इरानले अमेरिकी प्रतिनिधिसँग तत्काल प्रत्यक्ष वार्ता गर्ने योजना भने बनाएको छैन ।
यसबीच, अमेरिकी ह्वाइट हाउसले भने इरानी पक्षसँग ‘प्रत्यक्ष संवाद’ गर्ने उद्देश्यले प्रतिनिधिमण्डल पाकिस्तान पठाइएको जनाएको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविट ले वार्ताले सहमतितर्फ प्रगति गराउने अपेक्षा गरिएको बताइन् ।
इरानका विदेशमन्त्री अब्बास अराघची पनि इस्लामावाद पुगेका छन् । उनले पाकिस्तानका सेना प्रमुख असिम मुनिर सँग भेटवार्ता गरेको जानकारी सार्वजनिक भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको प्रस्तावअनुसार वार्ता अगाडि बढाउन प्रयास भइरहेको जनाइएको छ । यद्यपि, दुई देशबीच प्रत्यक्ष भेट हुने वा नहुने विषय अझै स्पष्ट भएको छैन ।
यसअघि पहिलो चरणको वार्तामा नेतृत्व गरेका अमेरिकी उपराष्ट्रपति जेडी भान्स हालका लागि वार्तामा सहभागी नभए पनि आवश्यक परे पाकिस्तान जान तयार रहेको बताएका छन् ।
इरानी सरकारी टेलिभिजनले भने अमेरिकासँग प्रत्यक्ष भेटको योजना नरहेको र पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने संकेत दिएको छ ।
मध्यपूर्वमा जारी तनाव अन्त्य गर्न वार्ता महत्वपूर्ण मानिए पनि यो प्रक्रिया जटिल रहेको विश्लेषण गरिएको छ । विशेषगरी विश्व ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिने हर्मुज जलडमरू मध्य (स्ट्रेट अफ होर्मुज) पुनः सञ्चालनमा ल्याउने विषय पनि वार्ताको प्रमुख एजेन्डामा पर्ने अनुमान गरिएको छ ।
पाकिस्तानको विदेश मन्त्रालयले भने औपचारिक रूपमा अमेरिकी प्रतिनिधिसँगको प्रत्यक्ष वार्ताबारे उल्लेख नगरी क्षेत्रीय शान्ति र स्थिरतासम्बन्धी विषयमा छलफल भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया