टर्कीमा १३ वर्षीय विद्यार्थीद्वारा विद्यालयमा अन्धाधुन्ध गोली प्रहार : ९ जनाको मृत्यु, अन्य धेरै घाइते

लोकपथ
42
Shares

काठमाडौं । टर्कीको दक्षिणी क्षेत्रमा रहेको एक विद्यालयमा भएको गोलीबारीमा नौ जनाको मृत्यु भएको छ । उक्त घटनामा आठ विद्यार्थी र एक शिक्षकको ज्यान गएको अधिकारीहरूले जनाएका छन् ।

प्रहरीका अनुसार कक्षा ८ मा अध्ययनरत १३ वर्षीय एक विद्यार्थीले विद्यालयभित्र प्रवेश गरी अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणकारीले झोलामा पाँचवटा हतियार र सातवटा म्यागजिन लिएर विद्यालय पुगेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

घटनामा करिब १३ जना घाइते भएका छन्, जसमा छ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको जनाइएको छ । आक्रमणकारीले विद्यालयका दुई कक्षाकोठामा प्रवेश गरी कक्षा ५ का विद्यार्थीहरू रहेको स्थानमा गोली चलाएको बताइएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा विद्यार्थीहरू ज्यान जोगाउन विद्यालय भवनबाट भाग्दै गरेको देखिएको छ भने सीसीटीभी फुटेजमा पनि आक्रमणको दृश्य देखिएको बताइएको छ ।

स्थानीय गभर्नरका अनुसार आक्रमणकारीका बुबा पूर्व प्रहरी अधिकारी भएको र हतियार त्यहीँबाट आएको हुन सक्ने आशंका गरिएको छ । न्याय मन्त्रालयले घटनाबारे गम्भीर अनुसन्धान भइरहेको जनाएको छ ।

यसैबीच, मंगलबार मात्रै टर्कीको सनलिउर्फा प्रान्तमा यस्तै अर्को घटना भएको थियो, जसमा एक पूर्वविद्यार्थीले विद्यालयमा गोली चलाउँदा १६ जना घाइते भएका थिए । लगातार भएका यी घटनाले टर्कीमा विद्यालय सुरक्षा र हतियार नियन्त्रणबारे चिन्ता बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?